fbpx
corona information

गृहपृष्ठ जो जहाँ छौँ, त्यहीँ रहेर दसैँ मनाऔँ : प्रधानमन्त्री

जो जहाँ छौँ, त्यहीँ रहेर दसैँ मनाऔँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले चाडबाड केवल पर्व र उत्सवमात्र नभई सामाजिक प्रबन्धको आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिए । चाडबाडका नाममा हुने नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजुल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित नहुने भन्दै प्रधानमन्त्रीले यस्ता अभ्यासलाई सच्याएर चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताए ।

अहिले कोरोना महामारीको विषम परिस्थितिमा यस महान चाडलाई विगतभन्दा फरक ढंगले मनाउनुपरेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन् । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैँ मनाउन उनले सबैमा आग्रह गरेका छन् ।

यसपालिको बडादसैँ, जो जहाँ‑जहाँ छौँ, त्यहीँ‑त्यहीँ रहेर मनाउन प्रधानमन्त्रीले सबैसँग अनुरोध गरेका छन् । संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादसैँको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि उनले जानकारी दिए ।

प्रकाशित समय २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु