गृहपृष्ठ थारु बस्ती सुनसान : झुमरा र सखियामा बजेनन् मादल

थारु बस्ती सुनसान : झुमरा र सखियामा बजेनन् मादल

सखिया नाच । फाइल तस्बिर ।

बडादसैँमा मात्र नाचिने थारुहरुको सखिया र झुमरा नाच यसपालि यहाँ जम्न सकेन । कोरोना संक्रमणका कारण सामूहिक भेला र भीडभाड रोकिएकाले नाच रोकिएका हुन् ।

थारु समुदायमा नवमी धुमधाम मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ । थारु समुदाय दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुमरा नाच नाच्ने गर्थ्यो । तर, यसपालि कोभिड १९ का कारण कुनै पनि नाच हुन सकेनन् । झुमरा नाच र दसैँ विशेष विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएन, गाउँघर सुनसान छ ।

नवमीको दिन बिहानै कुल देवतालाई भेरवा (कुपिण्डोबाट बनाएको भेडा) र भालेको बली दिने गरिन्छ र त्यसको पित्तर (पिण्ड) दिने चलन छ । त्यस दिन बली दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन् । नवमीका दिन थारु युवक‑युवती रातभर सखिया र झुमरा नाच नाच्ने गर्छन् । घोराही १७ कर्जाहीका पूर्ण चौधरी भन्छन्, ‘परम्परागत चाड दसैँमा अरु समुदायभन्दा थारु समुदायको फरक हुन्थ्यो । यो नाचले दशैँको रौनकलाई अझ बढाउँथ्यो ।’

प्रायः युवकले मादल बजाउने र  युवतीले नाच्ने प्रचलन छ । रंगीबिरंगी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दसैँको गरिमालाई समेत बढाएको हुन्छ । घोराही उपमहानगरपालिका १० का थारु अगुवा धनीराम चौधरी भन्छन्, ‘यसपालिको दसैँमा कोभिड १९ को महामारीका कारण पूरै गाउँ नै सुनसान छ । घटस्थापनाका दिनदेखि थारु बस्तीमा झनै रमाइलो हुन्थ्यो । थारु बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो हुन्थ्यो ।’ उनीहरु हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन् ।

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि विशेषगरी नाचसँगै दसैँमा गाउने गरिन्छ । सखिया नाच्नका लागि १५–२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन् । युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ । सखिया नाच मादलको तालसँगै तीन खण्डमा नाच्ने गरिन्छ । यसपालिको दसैँमा दाङका थारु बस्तीमा मादल पनि बजेनन्, नाचगान पनि भएन र गाउँघर सुनसान भएको छ ।

चार वर्षदेखि सखिया नाच नाच्दै आएकी घोराही ४ गोग्लीकी अनिता चौधरी यसपालि नाच्न नपाउँदा खिन्न छिन् । उनले भनिन्, ‘कोरोनाका कारण यसपालि घरमै बस्ने निर्णय ग‑यौँ, अर्को साल सबै साथीहरु जम्मा भएर नाच्ने, रमाइलो गर्नेछौँ ।’ (रासस)

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु