fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ ‘आफू दलित भएकै कारण निर्मलाले प्रेमी गुमाइन्, वियोगको पीडामा ज्यान फालिन्’

‘आफू दलित भएकै कारण निर्मलाले प्रेमी गुमाइन्, वियोगको पीडामा ज्यान फालिन्’

निर्मलाको शव भेटिएको स्थल

भनिन्छ, माया-प्रेम भनेको अन्धो हुन्छ । मायाका खातिर सारा संसार त्याग्न तयार हुन्छन् प्रेमिल मनहरु । बाँकी संसार र सम्बन्धहरुका अगाडि मायाकै पल्ला भारी हुन्छ । माया गर्ने मान्छेबाहेक अरू केही हुन्न उनीहरूका लागि । बरु दुनियाँतर्फ पीँठ फर्काउँछन्, आफ्नो प्रेमलाई आत्मसात् गरेरै छाड्ने प्रण गर्छन् ।

तर, बिचमा आउने विविध व्यवधानहरुका कारण कतिपय ‘मायाका कथाहरु’ वियोगान्त पनि बन्छन् । अनि त, समाजमा नसोचिएका घटनाहरु घटेका छन् । मन वैरागिएका छन्, ज्यानै गएका छन् । सुदूरपश्चिमको कैलालीमा केही दिनअघि घटेको एउटा घटनामा पनि मायापिरती नै कारक रहेको अनुमान गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित कैलाली एफएममा कार्यरत निर्मला पहराई शुक्रबार मृत भेटिइन् । ३ दिनदेखि बेपत्ता उनको शव घोडाघोडी नगरपालिका- ५ स्थित फूलबारी सामुदायिक वनको रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । २३ वर्षीया निर्मलासँग प्रेम सम्बन्ध रहेको खुलेपछि प्रेमी भनिएका ललित जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितको अर्कै प्रेमिका रहेको थाहा पाएपछि निर्मलाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार घटना भएको दिन निर्मला ‘ललितकोमा जान्छु’ भनेर घरबाट हिँडेकी थिइन् । सोही कारण ललितलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

ललितकी प्रेमिका भनिएकी युवतीसँग निर्मलाको सामान्य झगडासमेत भएको स्थानीयहरुले बताएका छन् । ललितकोमा जान्छु भनेर हिँडेको साँझ निर्मलाले आफ्नो एक साथीलाई ‘ललितको अर्कै प्रेमिका रहेछ, उनीहरुसँग मेरो झगडा भयो’ भनेको निर्मलाका दाई विशाल पहराईले बताएका छन् । उनका अनुसार सुरुमा ललितले ‘निर्मला दलित समुदायको हो’ भन्ने थाहा नपाएकै कारण उनीसँग प्रेम गरेका थिए । विशालका अनुसार ललित र निर्मला सँगसँगै हिँड्थे । ललित जाग्रीले केही समय निर्मलासँगै कैलाली एफएममा काम गरेका थिए ।

निर्मला ६ महिनाअघि धनगढीमा गठन भएको दलित पत्रकार संघको सुदूरपश्चिम प्रदेशको सहसचिव बनेकी थिइन् । त्यही बेलादेखि ललितले निर्मलालाई छोड्न खोजेको विशालको भनाइ छ । उनका अनुसार ललितले निर्मला दलित भएको थाहा पाएपछि अर्की युवतीसँग प्रेम सम्बन्ध सुुरु गरेका थिए ।

निर्मलाको हत्या भएको उनका परिवारका सदस्यहरुको आरोप छ । हत्या गरी झुन्ड्याइएको उनका दाजुले दाबी गरे । ‘शव हेर्दा पनि थाहा हुन्छ । त्यो आत्महत्या होइन, हत्या हो । मेरी बहिनीको हत्या गर्नेलाई कडा कारबाही हुनुपर्छ,’ उनले भने ।

निर्मलाको शव अहिले पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । तर, घटनाको छानबिन नभएसम्म पोस्टमार्टम गर्न नदिने पीडित पक्षले अडान लिएका छन् ।

नागरिक समाजद्वारा छानबिन माग

निर्मलाको मृत्यबारे निष्पक्ष छानबिन हुनुपर्ने कैलालीका विभिन्न नागरिक समाजको माग छ । दलित संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण नेपाल, मिसन अम्बेडकर र राष्ट्रिय दलित नेटवर्कले शनिबार साझा विज्ञप्ति जारी गर्दै घटनाका संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । दोषीमाथि कारबाही नभए आन्दोलन गर्नेसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ ।

ईलाका प्रहरी कार्यालय कैलालीका प्रमुख डीएसपी सागर बोहराले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘हामीले गर्नुपर्ने सबै गरिरहेका छौँ । पीडित पक्षबाट अहिलेसम्म उजुरी आएको छैन । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिसँग सोधपुछ भइरहेको छ,’ उनले बताए ।

प्रकाशित समय १७:५६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु