fbpx
corona information

गृहपृष्ठ सिन्धुपाल्चोकमा पहिरोको पीडा : दुई महिनायता ७४ को मृत्यु, ४१ अझै बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोको पीडा : दुई महिनायता ७४ को मृत्यु, ४१ अझै बेपत्ता

पहिरोग्रस्त लिदी गाउँ ।

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।

आइतबार बाह्रबिसे नगरपालिका- ७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन् । यस्तै असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्‍यायो ।

बाह्रबिसे नगरपालिका- ५, जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ हालसम्म पनि हराइरहेका छन् । त्यस्तै सोही दिन भोटेकोशी गाउँपालिका ४, बुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी साउन १ गते भोटेकोशी गाउँपालिका- ४, फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्‍यो । लामो प्रयासपछि मात्र शव फेला परेको थियो ।

घुम्थाङ पहिरो।

गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका- ११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ कामदारले ज्यान गुमाउनपर्‍यो । यस्तै मेलम्ची खानेपानीको गेट फुटलाखोलाको बेगले दुई जनालाई बगाएको थियो । तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन् । एक जनाको तत्काल उद्धार गरिएको थियो । यस्तै सोही दिन पाँचपोखरी थाङपाल गाउँपालिका- २, बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाए । साउन ३० गते सिंगो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि दुई जना हराइरहेका छन् ।

सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम सुरु भएयता ७४ जनाले ज्यान गुमाएका छन् । पहिरोमा हालसम्म ४१ जना हराइरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । पहिरोमा परी जिल्लाभर १३० घर पूर्ण रूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्ण रूपमा क्षति भएका हुन् । यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४ सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख ढकालले बताए । यस्तै भोटेकोशीमा ८ सय ७५, जुगल गाउँपालिकामा ४ सय ८, मेलम्ची नगरपालिकामा १ सय ४३, पाँचपोखरी थाङपाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख ढकालले बताए ।

घुम्थाङ पहिरोपीडितसँग सभामुख सापकोटा ।

जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट १० लाख रूपैयाँ पहिरोले आवासविहीन बनाएका परिवारलाई ११ लाख ८५ हजार र पहिरोपीडितलाई १० लाख नौ हजार राहत वितरणसमेत गरिसकिएको प्रमुख ढकालले जानकारी दिए ।

आफूखुशी राहत नबाँड्न सार्वजनिक अपिल

घुम्थाङ भिरखर्क-नागपुजे पहिरोपीडितका लागि दाताहरुले राहत लिएर आउने क्रम सुरु भएपछि बाह्रबिसे नगरपालिकाले विषम परिस्थितिको ख्याल गर्दै भीड जम्मा गरेर आफूखुशी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ । स्वास्थ्य सुरक्षाको ख्याल गर्दै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै बाह्रबिसे नगरपालिकाले दाताहरुलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेको हो ।

कोरोना भाइरसको जोखिमका कारण भीडभाड गर्न नहुने, भौतिक दूरी कायम गर्नुपर्नेजस्ता स्वास्थ्य मापदण्ड पालना गरेर पहिरोपीडितलाई नगरपालिकाले राहत उपलब्ध गराउने बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । ‘पीडितको घाउमा राहतको मलमपट्टी लिएर आउनुहुने दातालाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेका हौँ,’ प्रमुख शेर्पाले भने ।

लिदी पहिरोपीडितलाई राहत वितरण।

एकद्वार प्रणालीमा पहिरोपीडितका आश्रयस्थलमा राहत पुर्‍याउने नीतिअनुरुप समन्वयका लागि दाताहरुलाई आग्रह गरिएको उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिए । ‘परिस्थिति अलि जटिल छ, राहत सामग्रीसँगै पहिरोपीडितका बस्तीमा कोरोना भाइरसले प्रवेश नगरोस् भनेर समन्वयका लागि अपिल गरिएको हो,’ पाख्रिनले भने । बाह्रबिसे नगरपालिकाले आइतबार साँझ नै पीडितको अस्थायी बासका लागि ४५ थान टेन्ट नागपुजे पुर्‍याएको छ । पीडित विस्थापितलाई टेन्टमा राखिएको छ । (रासस)

प्रकाशित समय ११:०९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु