fbpx
corona information

गृहपृष्ठ यातायातका साधन चल्न थाले, यात्रु छैनन्

यातायातका साधन चल्न थाले, यात्रु छैनन्

कोरोना महामारी फैलिने भन्दै जिल्लाभर निषेधाज्ञा गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले गत भदौ १९ गते रातीबाट निशेधाज्ञालाई खुकुलो बनाएको छ । निषेधाज्ञा खुकुलो भएसँगै जोरबिजोर प्रणालीबाट सार्वजनिक सवारी साधन पनि सञ्चालनमा आएका छन् । जिल्लाभित्र मात्रै सञ्चालन हुने सवारी साधन सञ्चालन भए पनि यात्रु न्यून छन् । न्यून संख्यामा सवारी साधन चलिरहेका बेला यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रामा चढ्ने गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागी सरकारले ३ महिने लामो लकडाउन गरेको थियो । ३ महिनापछि लकडाउ खुकुलो पारेपनि कोरोना संक्रमण बढ्दो क्रममा छ । सुदूरपश्चिमको मुख्य पर्व गौरा पर्व र महिलाहरुको महान चाड हरितालिका तीजका बेला भीड बढ्ने भन्दै कैलालीमा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । १९ गते रातिबाट भने निषेधाज्ञा खुकुलो बनाइएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै धेरै व्यापार व्यवसाय पनि सञ्चालनमा छन् । अहिले जिल्लाभर जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन भएका छन् । तर, आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन । सामान्य अवस्थामा खचाखच देखिने सडकमा गुडिरहेका बस, माइक्रो, ट्याम्पोलगायतका सवारी साधनमध्ये अधिकांशमा आधाभन्दा कम मात्रै यात्रु देखिन्छन् ।

पहिलाको तुलनामा आधा पनि यात्रु नपाएको सवारी चालक बताउँछन् । कैलालीको लम्कीका धनबहादुर धामी धनगढीदेखि टिकापुरसम्म मिनि बस चलाउँछन् । विगतमा उनले दैनिक ४ देखि ६ हजारसम्म आम्दानी गर्थे । आफ्नै गाडी भएका उनी अहिले दैनिक १ हजार रुपयाँसम्म पनि कमाउन सक्दैनन् । लकडाउन खुकुलो भए पनि मानिसको चहलपहल नबढ्दा गाडी रित्तै हुन लागेको धामी बताउँछन् ।

अधिकांश सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्क र स्यानिटाइजरको प्रयोग गरिरहेका छन् भने कतिपय चालकले नलगाएको पाइन्छ । कोरोना कहरकै बीच सवारी साधन भने चल्न सुरु भएका छन् । महिनौँसम्म थन्क्याएर राखेका सपवारी साधन बिग्रिन थालेपछि सवारीधनीले यातायात सञ्चालन गरेका छन् ।

धनगढीबाट भजनीसम्म बस चलाउने दानबहादुर चौधरी निषेधाज्ञा खुकुलो भएसँगै बस लिएर सडकमा आए । पहिला दैनिक ५ देखि ६ हजार रुपयाँसम्म बचाउने चौधरी हिजोआज १ हजार रुपयाँ पनि बचाउन सकिरहेका छैनन् । गाडी घरमै राखेर बसिराखौँ भने पनि खान लाउन धौ–धौ परिसक्यो । सवारी साधनमा काम गर्ने मजदुरलाई छाक टार्नै धौ–धौ भएपछि महामारीकै बीच यातायात सञ्चालन गर्न बाध्य भएको चौधरीले बताए ।

प्रकाशित समय ०८:५६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु