fbpx
corona information

गृहपृष्ठ सुदूरपश्चिममा लकडाउन अवधिमा बलात्कारका घटनाको डरलाग्दो तथ्यांक

सुदूरपश्चिममा लकडाउन अवधिमा बलात्कारका घटनाको डरलाग्दो तथ्यांक

rape newskarobar सांकेतिक तस्बिर ।

सुदूरपश्चिम प्रदेशमा बलात्कार, घरेलु हिंसा र आत्महत्याको डरलाग्दो तथ्यांक देखिएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउन अवधिमा बलात्कारका घटना डरलाग्दो गरी बढेको प्रहरीको तथ्यांकले देखाएको हो ।

चैतयता हालसम्म प्रदेशका नौ वटै जिल्लामा करणी र करणी उद्योगका १५० मुद्दा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । चैतमा कैलालीमा ६, कञ्चनपुरमा ३, बाजुरा र बझाङमा दुई/दुई र बैतडीमा एक गरी बलात्कारका १४ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै वैशाखमा कैलालीमा ८, कञ्चनपुरमा ३ र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक/एक र जेठमा बलात्कारमा २३ र करणी उद्योगका ५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । असारमा भने मुद्दा बढेर बलात्कारका २५ र उद्योगका १२ गरी ३७ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयहरुमा दर्ता भएका छन् । सबैभन्दा बढी कैलालीमा २१ वटा मुद्दा दर्ता भएका छन् ।

साउनमा बलात्कारसम्बन्धी ३२ मुद्दा दर्ता भएका छन् । त्यस्तै भदौमा बलात्कारसम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले लकडाउनमा बलात्कार र उद्योगका घटना विगतकै जस्तो रहेको बताए । ‘विगतको तथ्यांक हेर्ने हो भने पनि केही तलमाथि बाहेक समान नै छ,’ उनले भने, ‘लकडाउन भएर यसप्रकारका मुद्दा बढे भनिहाल्नुपर्ने अवस्था छैन ।’ बलात्कारका घटनामा अभियुक्तहरु कानुनी कारबाहीको दायरामा रहेको उनले बताए ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने लकडाउन अवधिमा महिला हिंसाका घटना बढेको बताइन् । ‘सबै जना बेरोजगार भए, गुजारा चलाउन पनि गाह्रो हुने स्थित भएकाले हिंसा बढ्ने अवस्था छ,’ उनले भनिन्, ‘अपराध नियन्त्रण गर्न कारबाही पक्ष बलियो हुनुपर्छ ।’

माइती नेपालमा बलात्कार उद्योगका मुद्दाका साथै महिला हिंसाका घटना लिएर पीडितहरु आइरहेको उनले जानकारी दिइन् । ‘लकडाउनमा मानव बेचबिखन गर्ने दलालहरुको गिरोह पनि सक्रिय छ,’ उनले भने, ‘भारत आवतजावत सुरु हुन दिँदा विभिन्न चलाखी गरेर सीमा कटाउने प्रयास भइरहेको पाइएको छ ।’

आत्महत्या बढ्दो

प्रदेशमा आत्महत्या गर्नेको संख्या पनि बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा ५५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा बढी हो ।

आत्महत्याको दर पनि विगत वर्ष र अहिलेको अवस्थामा समान जस्तै रहेको निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए । ‘संख्या वृद्धि भए पनि धेरै अन्तर भने छैन,’ उनले भने । लकडाउनयता सुदूरपश्चिमका विभिन्न जिल्लामा ३०६ जनाले आत्महत्या गरिसकेका छन् ।

लकडाउन अवधिमा सबैभन्दा बढी कैलालीमा ११० जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि असारभरमा कैलालीमा ८१, कञ्चनपुरमा ६८, डोटीमा १५, अछाममा १४, बैतडीमा १२, दार्चुलामा १०, डडेल्धुरा र बझाङमा ९/९ र बाजुरामा ६ जनाले गरी २२४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रदेशमा आर्थिक वर्ष २०७२/७३ मा ४५६, २०७३/७४ मा ४३६, ०७४/७५ मा ४७० र २०७५/७६ मा ४७५ जनाले आत्महत्या गरेको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए ।

चार वर्षयताको तथ्यांक हेर्दा सबैभन्दा बढी झुन्डिएर र त्यसपछि विष सेवन गरेर मर्नेको संख्या धेरै छ । त्यसैगरी पानीमा हाम फालेर, हातहतियार प्रयोग गरेर र विस्फोटक पदार्थ प्रयोग गरेर पनि सुदूरपश्चिममा आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ । प्रदेशमा आर्थिक वर्ष २०७२/७३ देखि ०७६/७७ सम्म दुई हजार ३८८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालबालिका पनि छन् ।

प्रहरीले कतिपय आत्महत्या घरेलु हिंसा र पारिवारिक कलहका कारण पनि भइरहेको विश्लेषण गरेको छ । आत्महत्या र आपराधिक घटना रोकथामका लागि प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

महेन्द्रनगरका अधिवक्ता पुनम चन्दले घरेलु हिंसा, आत्महत्या र बलात्कारका कतिपय घटना गाउँघरमै मिलापत्र गरेर लुकाउने गरेको पनि बताए । ‘मानिस पहिलेभन्दा चेतनशील भइसके, न्याय खोज्न पनि आउने क्रम बढ्दै छ,’ उनले भने ।

प्रकाशित समय २०:०६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु