गृहपृष्ठ सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि आक्रमण

सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि आक्रमण

धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण भएको छ । ‘प्रहरीको थुनुवा कक्षभित्रै युवकद्वारा आत्महत्या’सम्बन्धी समाचारलाई लिएर १५/२० जना युवाहरुको समूहले समाचार कक्षमै प्रवेश गरी सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेका हुन् ।

दिनेश खबरले समाचारकक्षमै पत्रकारहरु कुटिएको भिडियो सार्वजनिक गरेको छ । ‘थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार झुटो भएको भन्दै आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी प्रतिक विष्टले दिएको विवरणका आधारमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरको विषयमा समाचार दिनेश खबरमा प्रकाशन भएको सम्पादक नवराज पनेरुले बताए ।

कारबाहीको माग

दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति पत्रकार महासंघ कैलालीलगायत अन्य विभिन्न संघ संस्थाको ध्यानाकर्षण भएको छ । सञ्चार गृहमै प्रवेश गरी कुटपिट गर्नेलाई तत्काल प्रकाउ गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले उक्त कार्यको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ । घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सिंगो पत्रकारिता क्षेत्रमाथिको आक्रमणको घटनाका रुपमा लिएको महासंघले जनाएको छ । ‘समाचारको विषयमा कुनै विमति भए त्यसको समाधानका लागि कानुनी बाटो हुँदाहुँदै एकाएक सञ्चार गृहमा तथा पत्रकारमाथि आक्रमण गरिनुले पछिल्लोसमय आम पत्रकारले असुरक्षित महसुस गर्नुपरेको महासंघका जिल्ला कोषाअध्यक्ष हिमाल जोशीले बताए । उनले आक्रमणको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन र सञ्चारगृह तथा पत्रकारको भौतिक सुरक्षामा विशेष ध्यान दिन प्रशासनसँग माग गरेका छन् ।

इन्सेक सुदूरपश्चिम संयोजक खड्कराज जोशीले आम जनतालाई सुसूचित पार्ने सञ्चार माध्यममाथि दिनदहाडै आक्रमण हुनु निन्दनीय भएको बताएका छन् । उनले यस घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण भएको बताए । साथै घटनमा संग्लनलाई तत्काल कारबाही गर्न उनले सरकारसँग माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पनि सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला दिनमा सञ्चारकर्मीमाथि भइरहेका लगातार आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला भएको भन्दै महासंघले विज्ञप्तिमार्फत विरोध जनाएको छ । समितिले आक्रमणकारीलाई तत्काल कारबाहीको माग गरेको छ । समाचारको विषयमा कुनै विमति भए आफ्नो धारण राख्ने कानुनी माध्यम हुँदाहुँदै केही उच्छृंखल व्यक्तिहरुले समाचार कक्षभित्रै प्रवेश गरी पत्रकारमाथि कुटपिट गरेको घटना सिंगो प्रेस जगतका लागि असह्य घटना भएको महासंघको ठहर छ । महासंघले घटनामा संलग्न दोषीलाई कारबाहीमा ढिलासुस्ती गरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।

मृतकका आफन्त आन्दोलनमा

भदौ २२ गते चोरीको मुद्दामा धनगढी उपमहानगरपालिका- १ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले सत्यतथ्य छानबिनको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको शौचालयमा उनले आत्महत्या गरेको कैलाली प्रहरीले बताए पनि आफन्तले भने उनको कुटपिटबाट ज्यान गएको दावी गरेका छन् । रोशन विकलाई भित्रकै थुनुवा तथा प्रहरीले कुटपिट गरी मारेको आफन्तले आरोप लगाएका छन् ।

२२ गते पक्राउ पर्ने बेला रोशन स्वस्थ रहेको उनका आफन्तहरुको भनाइ छ । २५ गते प्रहरीले फोन गरेर रोशन पागल हुन लागेको समेत भनेको आफन्तले बताएका छन् । आत्महत्या गरेको भनिएको स्थानसमेत हेर्न नपाएको मृतकका आफन्तहरुको भनाइ छ । रोशनको हत्या नै भएको दावी गर्दै आफन्तले जिल्ला प्रहरी कार्यालयअगाडि आज धर्नासमेत दिएका थिए ।

छानबिन समिति गठन

घटना छानबिन गर्न सशस्त्रका एसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । घटना छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका एसपी राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

प्रकाशित समय १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु