fbpx
corona information

गृहपृष्ठ धनुषामा एक हप्तामा तीन जना बलात्कृत, घटना दबाउने प्रयास

धनुषामा एक हप्तामा तीन जना बलात्कृत, घटना दबाउने प्रयास

बलात्कारको विरोधमा गत वर्ष विद्यार्थीहरूले निकालेको जुलुस ।

धनुषामा एक हप्तामा तीन बालिका बलात्कृत भएका छन् । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा भदौ २१ गते राति १२ बजेतिर १७ वर्षीया किशोरीलाई तीन युवा मिलेर घरमै प्रवेश गरी बलात्कार गरेका थिए । अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय मुनुवा राउत अमात्यलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

घटनास्थलबाट फरार कुर्थाकै २० वर्षीय अजयराय अमात्य र २२ वर्षीय राकेश खत्वे मण्डललाई प्रहरीले पक्राउ गरेको भए पनि आर्थिक चलखेल गरी आरोपितहरुलाई कुनै अनुसन्धान नगरी छाडेको पीडित परिवारको आरोप छ । पीडित किशोरीले भदौ २३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी छन् ।

भदौ २० गते साँझ लक्ष्मिनियाँ गाउँपालिका २ बस्ने १० वर्षीया बालिकालाई सोही ठाउँ बस्ने किराना पसल सञ्चालक ५५ वर्षीय बुधवा भन्ने बद्री साह सोनारले चकलेट दिन्छु भन्दै बलात्कार गरेका थिए । पसलमा बोलाएर बलात्कार गरिरहेका बेला बालिकाकी सौतेनी आमाले देखेपछि घटना बाहिर आएको हो ।

पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने भन्दै गाउँमै घटना मिलाउने प्रयास भएको थियो । तर, भदौ २१ गते साँझ कुरा बाहिरिएपछि मुद्दा दर्ता प्रक्रिया अघि बढेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा आरोपितविरुद्ध दिएको उजुरी भदौ २४ गते दर्ता भएको छ । बालिकाको स्वास्थ्य परीक्षण भदौ २१ गते नै गरिएको छ । आरोपितलाई प्रहरीले भदौ २४ गते साँझ महोत्तरीको मटियानीबाट गिरफ्तार गरेको छ ।

धनुषाकै गणेशमान चारनाथ नगरपालिका ३ बस्ने १४ वर्षीया किशोरीलाई भदौ १५ गते बाख्रा चराउन गएका बेलामा अपरिचित युवाले बलात्कार गरे । बाख्रा लिएर घर फर्किंदै गर्दा मास्क लगाएको केटाले बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । उनलेसोही दिन इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दिएकी थिइन् । हाल घटनामा संलग्न भएको आरोपमा तीन युवालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

घटना दबाउने प्रयास

कुर्थाकी १७ वर्षीया किशोरी चिच्याएको आवाज सुनेर छिमेकीहरु आएपछि मुनुवा घटनास्थलबाटै पक्राउ परेका हुन् । पछि अरु पनि पक्राउ परे । तर, अजयराय र राकेशलाई कुर्था प्रहरी चौकीले स्थानीय नेताको दबाब र आर्थिक चलखेलमा अनुसन्धान नै नगरी भदौ २२ गते बिहान ९ बजे जमानतमा छाडिएको आरोप पीडितका बुवाले लगाएका छन् ।

१० वर्षीया बालिकालाई बलात्कार गर्ने बद्रीनाथले पन िघटना गाउँमै मिलाउन पीडित परिवारलाई दबाबका साथै २५ हजार रुपैयाँ दिन खोज्यो । क्षतिपूर्ति लिन बालिकाकी बुवालाई आरोपितका भाइलगायत जनप्रतिनिधिले दबाब दिएका थिए ।

गणेशमान चारनाथ ३ मा भएको घटनाका विषयमा पनि इलाका प्रहरी कार्यालय ढल्केबरमा पीडित बालिकासहित उनको परिवार सम्पर्कमा गएको थियो । तर पीडित बालिकाको समयमै स्वास्थ्य परीक्षण गराइएन । घटनामा सलग्न भएको आशंकामा तीन युवा पक्राउ परे पनि यकिन हुन सकेको छैन ।

प्रकाशित समय १३:३१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु