गृहपृष्ठ बैठकमा सामाजिक दूरी कायम गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीमाथि कुटपिट

बैठकमा सामाजिक दूरी कायम गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीमाथि कुटपिट

kutipit_कुटपीट

स्वाब संकलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो ।

बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास- ३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेका बताइएको छ । भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालन रहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए । ‘विद्यालयमा बैठक चलिरहेको थियो । ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए । मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा म माथि हातपात भयो,’ उनले भने ।

स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट रहेको बताइएको छ ।  स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरी चौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी बोहराले बताए । उनले भने, ‘यसरी मलाई काम गर्न निकै असहज भएको छ । अहिले निवेदन दिनका लागि प्रहरी चौकीमा आएको छु । यसपछि के हुन्छ । त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु ।’

स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्यसमेत प्रभावित भएको ढुंगाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले बताए । उनले भने, ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरेका थियौँ, तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ ।’

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको समेत माग गरिएको ढुंगाड स्वास्थ्यचौकीका प्रमुख साउँदले बताए । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले कुटपिटमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने जानकारी दिए । ‘स्वास्थ्यकर्मी कुटपिट भएको भन्ने खबर पाएपछि संलग्न ती व्यक्तिलाई नियन्त्रमा लिन प्रहरी टोली गएको छ,’ उनले भने ।

स्थानीय तहमा स्वाब संकलन कार्य भइरहेको छ । अहिलेसम्म ३ सय ७५ जनामा कोरोना पुष्टि भएको छ भने ३६२ जना डिस्चार्ज भइसकेका छन् । जिल्लामा १३ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु