गृहपृष्ठ बाढीले कैलालीका दुई सय घर डुवानमा (तस्बिरहरूसहित)

बाढीले कैलालीका दुई सय घर डुवानमा (तस्बिरहरूसहित)

अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढेर बाढी गाउँ पसेपछि कैलालीका करिब तीन सय घर डुबानमा परेका छन् । बाढीले भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका मात्रै डेढ सयभन्दा बढी घर डुबानमा परेका हुन् । यसैगरी, बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा पनि डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कार्यालयका अनुसार भजनी नगरपालिकामा मात्रै १२० भन्दा बढी घर डुबानमा परेका छ । वडा नम्बर ५ जबलपुर गाउँका ५०–६० घर डुबानमा परेपछि जोखिम बढेको भन्दै पीडितलाई सुुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनीहरुलाई नजिकको सुरक्षित स्थानमा सारिएको उनले बताए ।

यसैगरी भजनी नगरपालिका २ र ३ मा पर्ने मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेर करिब ६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काँढा नदीको बाढी ‘ओभरफ्लो’ भएर सडकमा आएपछि भजनी–जोशीपुर सडक र मोहनपुर गाउँबाट महादेउली गाउँ जाने सडक अवरुद्ध भएको छ । मोहना र काँढा नदीको बाढीले भजनी नगरपालिका ३ नम्बर वडाका अधिकांश ठाउँ डुबानमा परेका अध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।

यस्तै, जोशीपुर गाउँपालिका ३ स्थित फरिया गाउँमा काँढा नदीको बाढी पसेर २५ घर र वडा नम्बर ४ स्थित झबही गाउँको खैरेनी टोलमा पथरैया नदीको बाढी पसेर सात घर डुबानमा परेका छन् । वडा नम्बर ५ बनकट्टामा पनि केही घर डुबानमा परेको छ ।

अविरल वर्षाका कारण कर्णाली, मोहना, पथरैया, काँढा, कान्द्रा, घुरहा, खुटिया, कटैनीलगायतका सबै नदी र खोलानालामा बाढी आएको छ । जिल्लाको सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह ९.६ मिटर पुगेको छ । यो सतर्कताको नजिक हो । कर्णालीमा पानीको सतह १० भएमा सतर्कता अपनाउन आवश्यक हुने गरेको ‘गेज रिडर’ पार्वती गुरुङले बताइन् । यसैगरी, कर्णालीमा पानीको सतह ११ मिटर पुग्नु खतराको संकेत मानिन्छ ।

एक रातको झरीमै धनगढी जलमग्न

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम रहेको धनगढी क्षेत्र एक रातको झरीमै जलमग्न भएको छ । डुवानको उच्च जोखिममा रहेका कैलालीका अधिकांश क्षेत्र डुवानमा परेसँगै धनगढीका विभिन्न क्षेत्र डुवानमा परेका छन् । मंगलबार रातिदेखिको वर्षाले धनगढी जलमग्न भएको हो । स्थानीय तहले दीर्घकालीन पानी निकासका लागि पहल नगर्दा यस्तो अवस्था सिर्जना भएको स्थानीय बताउँछन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अधिकांश क्षेत्र डुवानमा परेका छन् । त्यस्तै वडा नम्बर ४ को बसपार्क पछाडि र हसनपुर क्षेत्र, वडा नम्बर १ को कटान क्षेत्र जलमग्न भएको छ । अन्य क्षेत्रभन्दा वडा नम्बर ३ बढी डुवान हुने क्षेत्र हो । वडा नम्बर ३ को बोराडाँडी, मित्रनगर, विशालनगर, गुरुद्वारा मार्गलगायतका ठाउँ जलमग्न भएका छन् । पानी निकासका लागि दीर्घकालीन योजना नबन्दा बर्सेनि डुवानको समस्यामा स्थानीयबासी छन् ।

एकातिर धमाधम बस्ती बसिरहेका बेला अर्कोतर्फ नालासमेत बन्द छन् । झन मोहना अत्तरिया ६ लेन सडकका कारण पनि वडा नम्बर ३ क्षेत्र डुवानमा परेको हो । निर्माणाधीन सडकसँगै नाला खोल्ने काम गर्नुपर्ने स्थानीय तहले कुनै वास्ता नगर्दा एकरातको झरीमै डुवान परेको स्थानीयले बताए ।

धनगढी उपमहानगरपालिका बोराडाँडी क्षेत्रमा करिब २० वर्षपछि डुवान परेको छ । मोहना अत्तरिया ६ लेन सडकमा बनेका कल्भर्टबाट बग्ने पानीको निकास नहुँदा बोराडाँडी क्षेत्र डुवानमा परेको स्थानीय शमशेरसिंह धामीले बताएका छन् । झन् ६ लेन सडकले नाली नै नबनाइदिँदा डुवान बढेको धामीले बताएका छन् ।

उपमहानगरपालिकाकै सबैभन्दा बढी ढुवान हुने क्षेत्र वडा नम्बर ३ हो । निर्माणाधीन मोहना अत्तरिया ६ लेन सडकको पुरै एकातिरको भाग ३ नम्बर वडामै पर्छ । यसले गर्दा यस वर्ष डुवान बढेको हो । भविष्यमा डुवानले भयाभह अवस्था सिर्जना हुने भन्दै उप हानगरपालिका, प्रदेश सरकारसँगै संघीय सरकारसँग समेत निकासका लागि पहल गर्न निवेदन नै दिए पनि कुनै वास्ता नगर्दा आज यो अवस्था सिर्जना भएको वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताएका छन् ।

डुवानको समस्या सुन्दा नागरिकसँगै डुवान क्षेत्रमा पुगेका वडाध्यक्ष ऐरले उपमहानगरपालिका तथा प्रदेश सरकारले दीर्घकालीन समस्या समाधान हुने गरी काम नगर्दासम्म वडा नम्बर ३ को डुवान नरोकिने उनको भनाइ छ ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु