गृहपृष्ठ न्यायालयको ‘शुन्य अवधि’ उपत्यकामा सकियो, अन्तरजिल्लामा भदौ १ देखि

न्यायालयको ‘शुन्य अवधि’ उपत्यकामा सकियो, अन्तरजिल्लामा भदौ १ देखि

कोरोनाभाइरसको जोखिमबाट बचाउन सरकारले गरेको बन्दाबन्दीको समयलाई न्यायालयले ‘शुन्य अवधि’ मानेको थियो । शुन्य अवधि सम्बन्धित जिल्ला बिहीबारदेखि नै सकिएको छ भने अन्तरजिल्लामा आगामी भदौ १ गतेदेखि सकिनेछ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरलेका अनुसार न्यायालयले शुन्य अवधि मानेको अवस्था सम्बन्धित जिल्लामा आजदेखि नै सकिएको छ । अन्तर जिल्लामा भदौ १ गतेदेखि लागू हुनेछ ।सरकारले लामो दूरीको यातायात पूर्ण रुपमा आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने भनेको छ । सोहीअनुसार अन्तरजिल्लामा शून्य अवधि सकिएको मानिनेछ ।

‘उपत्यकाका हकमा बन्दाबन्दी अन्त्य भएको छ, आजदेखि शुन्य अवधि सकिएको मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने निर्णय गरेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘अन्तरजिल्लाको हकमा भने आगामी भदौ १ गतेदेखि मात्र सो नियम लागू हुनेछ ।’

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १९ जना न्यायाधीशको इजलासले महामारी फैलिएको अवस्थालाई सम्बोधन गर्नका लागि स्पष्ट कानुनी व्यवस्था गर्न कानूनी बाधा फुकाउनेसम्बन्धी व्यवस्था गरेको थियो ।

गत चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी यही साउन ६ गते रातिबाट सकिएको छ । सरकारले बन्दाबन्दी खुला गरेसँगै अदालतको शून्य अवधि पनि सकिएर सम्बन्धित जिल्लामा मुद्दाको सुनुवाइ प्रक्रिया सुरु भएको छ । बन्दाबन्दीको अवधिमा मुद्दाको सुनुवाइ प्रक्रिया प्रभावित भएको छ ।

प्रकाशित समय १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु