fbpx
corona information

गृहपृष्ठ कृषिविज्ञ राईले प्रतिकिलो एक सयमा सलह किन्ने

कृषिविज्ञ राईले प्रतिकिलो एक सयमा सलह किन्ने

कृषिविज्ञ मदन राईले प्रतिकिलो एक सय रूपैयाँमा सलह किन्ने बताएका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो एक सय रूपैयाँले सलह किन्ने बताएका हुन् ।

‘कसैले समाएर ल्याइदिए किलोको एक सयले एक हजार किलोसम्मको एक लाख भुक्तानी गरिनेछ,’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मामा सुभद्रा मदन फाउन्डेसन सञ्चालन गरिरहेका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।’

राईले आइतबार लखेको फेसबुक स्टाटसमा भनिएको छ, ‘पक्रेर ल्याएको सलहबाट केही पशुपन्छीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पन्छीलाई खुवाउनेछौँ ।’ उनले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रह गरेका छन् । विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपन्छीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको राईले बताए ।

ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको छ । ‘बालीनालीमा देखिएको छैन,’ हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले भने, ‘लगातार परिरहेको पानीले रोकेर घरको भित्तामा ओत लागेको हुनसक्छ ।’

शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ । जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह देखिएपछि जिल्लास्थित स्थानीय तह तथा कृषि ज्ञान केन्द्र खोटाङको आपतकालीन बैठक बसेर नियन्त्रणको प्रयास थालिएको छ ।

प्रकाशित समय ०७:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु