fbpx
corona information

गृहपृष्ठ प्रहरीले भन्यो- सुस्मिताको हत्यामा पुरै परिवार संलग्न, जन्मकैद हुनसक्छ

प्रहरीले भन्यो- सुस्मिताको हत्यामा पुरै परिवार संलग्न, जन्मकैद हुनसक्छ

मकवानपुरस्थित आफ्नै भान्छाघरमा मृत भेटिएकी सुस्मिता थापाको हत्यामा पूरा परिवार संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दुई साता लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको अभियोगमा सासू, ससुरा र दुईवटी नन्दलाई सार्वजनिक गरेको छ ।

प्रहरीले सोमबार मृतकका ५० वर्षीया सासू तुलसा थापा, ५८ वर्षीय ससुरा प्रकाश थापा र नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया सीता थापालाई सार्वजनिक गरेको हो ।

सुस्मिताका पति रुपेन्द्रको २०७६ असोजमा ससुरालीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि सुस्मितालाई ‘तेरो कारण रुपेन्द्रको मृत्यु भयो’ भन्दै परिवारजनले तनाव दिन थालेका थिए । केही महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएकी सुस्मितालाई एकातिर पतिको मृत्युको वेदना र अर्कातिर परिवारको टोकसो सहन निकै मुस्किल पर्‍यो । उनी श्रीमानको काजकिरिया सकिएको केही दिनपछि नै माइती गइन् ।

उनले परिवारबाट किन त्यति रुढ व्यवहार भयो पहिला बुझिनन् । पछि थाहा भयो– परिवारले त्यस्तो व्यवहार गर्नुका पछाडि पैसा कारक रहेछ । रुपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएका कारण क्षतिपूर्तिबापत १० लाख रूपैयाँ आउने थियो । क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउँथ्यो ।

रुपेन्द्रको कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध थियो । दुर्घटनामा उनको मृत्यु भएपछि कोषले आश्रित परिवार योजनाअन्तर्गत सुस्मितालाई आजीवन पेन्सन दिन थाल्यो । सामाजिक सुरक्षा कोष दिवसका २०७६ मंसिर ११ गते सुस्मिताबाटै कोषले औपचारिक रूपमा दाबी रकम दिन थालेको थियो । यो रकममाथि पनि परिवारले दाबी गर्न थाल्यो ।

आम्दानीका विषयमा परिवारबीच विवाद बढ्दै जाँदा ससुराले सुस्मितामाथि बाथरुममा बलात्कारको प्रयाससमेत गरेको पाइएको प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

असार १ गते राति ९ बजेतिर सासूससुरा खाना खाएर सुत्ने कोठातिर गए । सुस्मिता र नन्द सीता खाना खाइरहेका थिए । सुस्मिता महिनावारी भएकाले भुइँमा बसेकी थिइन् । त्यही बेला ससुराले काठको लौरोले सुस्मिताको टाउकोमा हिर्काएको राठोरले बताए ।

उनी भुइँमा लडेपछि नन्द सीताले नजिकै रहेको लोहोरो प्रहार गरिन् । गम्भीर घाइते भएकी सुस्मिताले गुहार माग्दै कराउन थालेपछि सासू पनि भान्छाकोठातिर आएको र बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयास गरेको पाइएको प्रहरी उपरीक्षक राठोरले जानकारी दिए । भोलिपल्ट बुहारीले आत्महत्या गरेको भन्दै ससुराले गाउँलेलाई बोलाएका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा परिवारजनलाई आशंका गरी हिरासतमा लिइसकेको थियो । हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई फौजदारी अपराध संहिता २०७४ को दफा ४१ ‘क’ बमोजिम क्रुर यातना दिएर ज्यान मारेको आरोपमा जन्मकैद हुने व्यवस्था रहेको राठौरले बताए ।

प्रकाशित समय १६:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु