fbpx
corona information

गृहपृष्ठ भारतबाट ८ दिन हिँडेर घर आए, इमर्जेन्सी वार्डमा १० घण्टासम्म छटपटिँदै प्राण त्यागे

भारतबाट ८ दिन हिँडेर घर आए, इमर्जेन्सी वार्डमा १० घण्टासम्म छटपटिँदै प्राण त्यागे

अस्पतालले उपचारमा वेवास्ता गरेको आरोप

जनकपुरस्थित प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा एक बिरामीको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । हंसपुर नगरपालिका- ७ का असे सदाका १५ वर्षीय छोरा राजु सदाको सोमबार राति ३ बजे मृत्यु भएको हो ।

छोरालाई इमर्जेन्सी वार्डमा भर्ना गरिएको भए पनि चिकित्सकले चेकजाँच नगरेको असे सदाले बताए । ‘औषधि दिएनन् । राति छटपटिएर बेडबाट भुइँमा खस्दासमेत चिकित्सकहरुले वास्तै गरेनन्,’ उनले गुनासो सुनाए ।

बिरामी सदालाई सोमबार ४ बजे जनकपुरको प्रादेशिक अस्पतालकै कोरोना विशेष अस्पतालबाट प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । इमर्जेन्सी वार्डमा भर्ना गरिएको १० घण्टापछि सदाको मृत्यु भएको मृतकका काका विरेन्द्र सदाले बताए ।

भारतको अहमदावादबाट ८ दिन पैदल यात्रा गर्दै सीमाबाट जेठ ३ गते गाउँ प्रवेश गरेका राजु सदालाई हंसपुर नगरपालिकाको नौवाखोर प्रसाहीस्थित क्वारेन्टिनमा १७ दिन राखिएको थियो । क्वारेन्टिनमै रहँदा उनलाई झाडापखालाले सिकिस्त बनायो । झाडापखालाले कमजोर भएका उनलाई कोरोनाभाइरसको आंशकामा जनकपुरस्थित कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो ।

सो अस्पतालमा १३ दिन राखिएका उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ ‘सुविधा सम्पन्न’ प्रादेशिक अस्पताल रिफर गरिएको कोरोना अस्पताल धनुषाका संयोजक डा. जामुन सिंहले बताए । डा. सिंहका अनुसार राजुको रगतको नमुना संकलन गर्दा देखिएको खराबी र उनको नाजुक अवस्थाबारे धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे लगायतलाई जानकारी गराइएको थियो ।

मृतक सदालाई ब्रेन टयुमर भएको हुन सक्ने आशंका गरिए पनि उनको सिटी स्क्यान भने गरिएको छैन । १७ दिन क्वारेन्टिन र १३ दिन आइसोलेसनमा बसेका राजुको उपचार अभावकै कारण मृत्यु भएको मृतकका काका विरेन्द्रले दावी गरे । ‘आईसीयूमा राख्नुपर्नेमा कुनै सुविधा नभएको इमर्जेन्सी वार्डको बेडमा मात्रै राखियो,’ विरेन्द्रले भने । मृतक परिवारले अस्पतालबाट शव बुझेर सोमबार नै दाहसंस्कार गरिसकेका छन् ।

प्रकाशित समय २०:०८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु