गृहपृष्ठ कैलालीका ५ स्थानमा सशस्त्रको बीओपी स्थापना

कैलालीका ५ स्थानमा सशस्त्रको बीओपी स्थापना

कैलालीका सीमा क्षेत्रमा सशस्त्र प्रहरीले उपस्थिति बढाएको छ । जिल्लाका विभिन्न स्थानमा एक हप्तामै सशस्त्र प्रहरीले ५ वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

भारतसँग १ सय १ किलोमिटर लामो सिमाना रहेको कैलालीमा भारततिर दुई/तीन किलोमिटरमा सीमा सुरक्षा बल (एसएसबी)का पोष्ट रहेका छन् । नेपालतिर जिल्लाभरमा तीन वटा मात्रै पोष्ट रहेका थिए । गत पुसमा १ र जेठको २२ गते यतामात्रै थप ५ वटा बीओपी स्थापना गरी ९ वटा पुर्‍याइएको हो ।

सशस्त्र प्रहरी नम्बर ३४ गण कैलालीका अनुसार सीमा सुरक्षालाई प्राथमिकता दिँदै नेपाल सरकारले, २०७६ मंसिर ३० गते नै देशभरमा ११४ वटा बीओपी थप्ने निर्णय गरेको थियो । सोहीअनुसार कैलालीमा ६ वटा बीओपी स्वीकृत भएका थिए । कैलालीमा स्वीकृत भएकामध्ये कैलारी गाउँपालिकाको भुइँयाफाँटामा पुष ११ गते नै बीओपी स्थापना गरिएको थियो ।

तर जेठको २२ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ९ को बंगराकटान, वडा नम्बर १० को जुगेडा, कैलारी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको खोनपुर भन्ने स्थानमा र भजनी नगरपालिकाको वढा नम्बर ७ को हिम्मतपुरमा बीओपी स्थापना भएका छन् । सशस्त्र प्रहरी बल नेपाल, नम्बर गण ३४ हेडक्वार्टर धनगढीले दिएको जानकारीअनुसार शुक्रबार मात्रै टीकापुर नगरपालिकाको श्रीलंका टापुमा छैठौं बीओपी स्थापना भएको छ । योसँगै कैलालीको १०१ किलोमिटरको भारतसँगको सिमानामा ९ वटा बीओपी पुगेका छन् ।

यसअघि टीकापुर, भजनी र फुलबारीमा गरी तीनवटा मात्रै बीओपी थिए । अब जिल्लाभरी ९ वटा बीओपी र कैलालीको त्रिनगर नाकामा एउटा गुल्मसहित करिब ७ सय जना सशस्त्र प्रहरीको जनशक्ति कैलालीको सिमानामा मात्रै खटिने भएको छ । सशस्त्र प्रहरी बल बैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र डीआइजी हरिशंकर बुढाथोकीको उपस्थितिमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीका गणपति एसपी कमलप्रसाद तिमिल्सीनाले जानकारी दिए ।

तिमिल्सीनाले देशको सिमानामा पहिलो पंक्तिमा रहेर सशस्त्र प्रहरीले कार्य गरिरहेको बताए । उनले सीमानामा बीओपी स्थापना भए पनि सीमाको सुरक्षा हुने र सीमा क्षेत्रका नागरिकमा सुरक्षाको समेत प्रत्याभूति हुने विश्वास व्यक्त गरे ।

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु