fbpx
corona information

गृहपृष्ठ झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको ‘बीओपी’

झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको ‘बीओपी’

नेपाल-भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र डीआ हरिशंकर बुढाथाकीले सो बीओपीको शनिबार उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए । सीमा निगरानी, राजश्व संकलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ ।

सशस्त्र प्रहरी इन्स्पेक्टरको नेतृत्वमा बीओपी बस्ने भए पनि हाल सशस्त्र सइको नेतृत्वमा टोली बसेको छ । आफ्नो भवन नहुँदा बीओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्रका डीएसपी अमित सिंहले जानकारी दिए । हाललाई भाडाको घरमा बस्ने भए पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेकाले निकट भविष्यमै आफ्नो भवनमा बस्ने जनाइएको छ ।

बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बीओपी स्थापना हुने भनिए पनि उक्त क्षेत्रमा हाल पोष्ट खडा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै निकट भविष्यमा त्यसलाई नै बीओपीमा रुपान्तरण गरिने जनाइएको छ । पञ्चेश्वरमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको सशस्त्र प्रहरीको नं ५१ गुल्म बैतडीले जनाएको छ । बीओपीमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ ।

अब सीमा सुरक्षाका लागि सजिलो हुने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ । सरकारले सशस्त्र प्रहरी बललाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बीओपी स्थापना गरी परिचालन गर्न लागेको हो । हाल सीमामा देशभरि १२१ बीओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पुर्‍याउने तयारी गरेको जनाइएको छ ।

नेपालतर्फको सीमा नाकामा भारतको ५३० बीओपी रहेको बताइएको छ । नेपाल सरकारले पनि सोही अनुपातमा बीओपी थप्ने तयारी गरेको हो । कोरोनाको जोखिम हुन नदिन सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बीओपीमा रुपान्तरण गर्ने सरकारी तयारी रहेको जनाइएको छ । (रासस)

प्रकाशित समय १९:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु