fbpx
corona information

गृहपृष्ठ अस्तव्यस्त क्वारेन्टिन : ६१ जनालाई दुइटा मात्रै शौचालय

अस्तव्यस्त क्वारेन्टिन : ६१ जनालाई दुइटा मात्रै शौचालय

नगरपालिकाभित्रै विवाद : बैठकमै मेयर र उपमेयर पक्षबीच हात हालाहाल

जिल्लाको सबैला नपा–१२ वरकुर्वामास्थित फकिरचन्द गामी माविमा बनाइएको क्वारेन्टिन मापदण्ड विपरित भएको बताइएको छ । गत चैत १४ गतेदेखि सञ्चालन गर्दै आएको ५० वेडको क्वारेन्टिन मापदण्ड विपरित पूर्वाधार अभावमा सञ्चालन हुँदा बस्नेहरुले सास्ती भोग्नु परेको बताएका छन् ।

सबैला नगरपालिकाका नगरप्रमुख विजयशंकरप्रसाद साहको संयोजकत्वमा गठित समितिलाई क्वारेन्टिनमा आवश्यक सामग्रीको बन्दोबस्त गर्न ५० लाख रुपैयाँको कोरोना कोषमार्फत् निकासा गरेको छ । तर, क्वारेन्टिनस्थलमा आवश्यक पूर्वाधार निर्माण नगरी सञ्चालन गर्दा क्वारेन्टिनमा बस्नेले सास्ती भोग्न बाध्य भएका छन् ।

६१ जनाको लागि क्वारेन्टाइनमा शौचालय भने २ वटा मात्रै रहेको छ । चापाकल एक वटा मात्रै छ । ६१ जनालाई साँझ बिहान शौच गर्न पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको क्वारेन्टानमा रहेका पविन्द्र मण्डलले गुनासो गरेका छन् ।

सबैला नगरपालिकाले सञ्चालन गर्दै आएको क्वारेन्टिनमा खानासमेत गुणस्तरहिन दिने गरेको विगत १० दिनदेखि बस्दै आएका युवा चन्द्रदेव मिश्रले गुनासो गरेका छन् । उनले भने, ‘थालीमा भात हाल्ने बित्तिकै ठुस्स गन्हाउन थाल्छ । त्यसै खानाले मेरो त स्वास्थ्यमा समस्या आएको छ ।’

बिहानको खाना दिउँसो १२ बजेपछि मात्र दिने गरेको र आफूहरुले क्वारेन्टिनका व्यवस्थापन समिति सदस्य रहेका वडाध्यक्ष प्रदिप महतोलाई गुनासो गर्दा तिमीहरुले कोरोना लिएर आएको भन्दै हप्काउने गरेको चन्द्रदेव मिश्रले बताए । मिश्र भन्छन्, ‘हामी रहरले होइन्, बाध्यताले विदेशीनु परेको छ, आपतकालिन समयमा नगरले लाखौं रुपैयाँ जनताकै करको रकम निकासा गरे पनि जनताको लागि आवश्यक पूर्वाधार तयार गरेको छैन् ।’

यता, क्वारेन्टिनमा बसेकाहरुको सुरक्षार्थमा वैशाख २७ गतेदेखि निरन्तर खटिएका इलाका प्रहरी कार्यालय सबैलाका हवल्दार मन्दिप पटेलले बिहान शौच गर्न पनि बोतलमा पानी बोकेर खुला ठाउँमा जानुपर्ने बाध्यता रहेको बताएका छन् । ‘क्वारेन्टाइनमा मास्क, ग्लोब्स, सेनिटाइजरको व्यवस्थापन गरिएको छैन् । क्वारेन्टानमा एउटै तुथ पेस्टबाट सबैले दाँत माझ्नुपर्ने र एउटै साबुनलाई काटेर पाँच जनाले नुहाउनुपर्ने बाध्यता छ ।’ उनले भने ।

अहिलेसम्म क्वारेन्टिनमा बसेकाहरुको सामान्य स्वास्थ्य परीक्षणसमेत नगरेको युवाहरुले गुनासो गरेका छन् । क्वारेन्टिनका स्वास्थ्य संयोजक रामदुलार यादवलाई यस बारेमा सोधपुछ गर्दा क्वारेन्टिनमा बसेकाहरुको अस्पतालमा जस्तो बेड बेडमै पुगेर स्वास्थ्य जाँच गरिरहनुपर्ने आवश्यकता नभएको बताए । अहिलेसम्म क्वारेन्टिनमा बस्नेहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको उनले बताए ।

वडाध्यक्ष प्रदिप महतोले हाल वडाध्यक्ष भागिरथ महतोको संयोजकत्वमा क्वारेन्टिन रेखदेख तथा व्यवस्थापन उपसमिति निर्माण गरिएको छ । हाम्रै वडा नं. १२ मा क्वारेन्टिन रहेकाले गर्दा आफू पनि सदस्य रहेकोले पहिले क्वारेन्टिनमा कतरनी चामल प्रयोग हुँदै आएको बताए । अहिले भागिरथ महतो उपसमितिको संयोजक भएपछि गाउँघरकै सोनामंसुरी चामलको प्रयोग भएको आफूले समेत क्वारेन्टिनमा बसेकाहरुबाट फोनमार्फत् गुनासो सुनेकाले गर्दा क्वारेन्टिन अनुगमन गर्न आफू जाँदै गरेको फोनमा बताए । उनले भने, ‘५० बेड क्षमताको क्वारेन्टिन निर्माण गरेका छौं तर, अहिले क्षमताभन्दा बढी व्यक्तिहरुको एकाएक आएकाले व्यवस्थापनमा समस्या हुँदै आएकाले सुधार गरिनेछ ।’

सबैलाका नगरपालिकाकी उप–प्रमुख निलुदेवी कापरले नेपाल सरकारको मापदण्ड विपरित क्वारेन्टाइन निर्माण गरि आवश्यक पूर्वाधार तयार गर्नुपर्ने अडान राखेपछि ५ दिन अगाडि नगरपालिकाको बैठकमा मेयर र उपमेयर पक्षबीच हात हालाहालदेखि अश्लिल गालीगलौज समेत भएको थियो ।

उपमेयर निलुदेवी कापरले मेयर विजयशंकरप्रसाद साहले नगरमा वितरण गरिएको राहतदेखि क्वारेन्टिन व्यवस्थापनमा समेत भ्रष्ट्राचारी गर्दै आएको दावी गरेकी छिन् । उपमेयर कापरका अनुसार आफूलाई कुनै पनि जिम्मेवारी नदिइ केही वडाध्यक्षलाई आफ्नो फेवरमा राखेर जवरजस्ती काम गर्ने गरेको छ । हिसाबकिताब पारदर्शी गरेको छैन ।

नगरप्रमुख साहले सबैलामै घर हुँदा हुँदै जनकपुरमा डेरा गरी बसिरहेको र डेराभाडा, दैनिक जनकपुरदेखि सबैला आउने जानेलगायत भान्सेसमेतको तलब नगरबाट लिदै आएको बताए । उनले भने नगरको क्वारेन्टिनमा आफूले समेत निकै समस्या रहेको गुनासो आइरहेकोले सुधार गर्न आग्रह गर्दासमेत नगरप्रमुख साहले नटेरेको गुनासो गरिन् ।

प्रकाशित समय ०९:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु