fbpx
corona information

गृहपृष्ठ श्रीमती र छोराछोरीलाई कुटेर लखेटे अनि आफ्नै घरमा आगो लगाए

श्रीमती र छोराछोरीलाई कुटेर लखेटे अनि आफ्नै घरमा आगो लगाए

सांकेतिक तस्बिर ।

बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ ।

बुधबार राति ९ बजेपछि प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । गोठमा बाँधिएका पशु भने फुकाइएको थियो । घरगोठ जल्दा दुई लाख ४५ हजार रूपैयाँ बराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख असइ गुरुप्रसाद न्यौपानेले जानकारी दिए । घरधनी सुरजले रातिको समयमा मदिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए । त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । श्रीमानले  आफूहरुलाई कुट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउन छिमेकीको घरमा पुगेका बेला श्रीमानले आफ्नै घरमा आगो लगाएको पीडित राधिकाले बताइन् ।

श्रीमानले अत्यधिक मदिरा सेवन गर्दै आएका कारण आफू समस्यामा पर्दै आएको उनले गुनासो गरिन् । घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयवासीले घरभित्रैबाट निकालेका थिए । आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ ।

खरको छानो विस्थापित गरी टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिंगो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ । परिवारमा श्रीमान् श्रीमतीसहित तीन छोरा र एक छोरी छन् । बन्दाबन्दीको समयमा घर गोठ जल्दा खाने बस्नेको समस्या भएको छ ।

घर जलेपछि छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाल लगायतका अत्यावश्यक वस्तु सहयोग गर्ने सभापति होमनाथ अर्यालले जानकारी दिए । आगलागीपीडित कुमालको परिवारलाई गाउँपालिकाले समेत राहत प्रदान गर्ने बडिगाड गाउँपालिकाले जनाएको छ । (रासस)

प्रकाशित समय १३:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु