fbpx
corona information

गृहपृष्ठ मनोजले सिटी बजाउन थालेपछि टोलको रुप फेरियो

मनोजले सिटी बजाउन थालेपछि टोलको रुप फेरियो

जनकपुरधाम उपमहागरपालिकाको डिहवारस्थान सरस्वती टोलमा हरेक दिन एकाबिहानै सिटी बज्छ । सिटीको आवाज सुन्नैविबत्तिकै मानिसहरु फोहोरको डस्बिन बोकेर हतार-हतार सडकमा निस्कन्छन् । गत चैत २० गतेदेखि जनकपुरधाम- ९, १० र ११ को संगमस्थल साे स्थान वरपर शनिबारबाहेक प्रत्येक दिन यसरी नै फोहोर संकलन हुँदै आएको छ ।

सरस्वती टोलको डिहवार मन्दिर क्षेत्रमा फोहोर थुप्रिएपछि महल्ला नै दुर्गन्धित भएको थियो । यस्तो देखेपछि स्थानीयवासीहरुकै पहलमा पटक-पटक डस्टबिन राखिँदै आए पनि जथाभावी फोहोर फाल्ने काम बन्द भएको थिएन । अन्ततः फोहोर व्यवस्थानमा नयाँ तरिका अपनाइएको टोल सुधार समितिका संरक्षक नवल सिंहले बताए ।

समितिले टोलबाट निस्कने फोहोर व्यवस्थापन गर्नका लागि २८ वर्षीय युवा मनोज मल्लिकलाई जिम्मा दिएको छ । मनोज दैनिक सिटी बजाउँदै घर-घरबाट निस्केको फोहोर ठेलामा राखेर नगरको ट्रयाक्टर आउने स्थानसम्म जम्मा गर्छन् । अहिले दैनिक रुपमा यसरी घर-घरबाट फोहोर संकलन हुन थालेपछि टोल सफा र सुन्दर भएको छ । डिहवार स्थानमै रहेको पोखरी पनि सफा देखिएको छ ।

टोल सुधार समितिले फोहोर व्यवस्थापनका लागि प्रतिपरिवार मासिक एक सय रुपैया संकलन गरी मनोज मल्लिकलाई दिँदै आएको छ । प्रत्येक परिवारले दिएको सय रुपैयाँले घर, टोल र नगर क्षेत्र सफा राख्न मद्दत पुग्ने समितिका संरक्षक सिंहले बताए । ‘हरेक परिवारले दिएको सय रुपैयाँ कुनै ठूलो रकम होइन । सफाई कर्मचारीको मनोवल उच्च राख्ने कोसिस मात्र हो,’ उनले भने ।

 टोलमा दैनिक रुपमा फोहोर संकलन हुन थालेपछि दुर्गन्धबाट राहत मिलेको स्थानीयहरु बताउँछन् । जथाभावी फालिने फोहोरको दुर्गन्धबाट मुक्ति पाएको स्थानीय धनश्याम कटुवालले बताए । ‘मेरो घर अगाडिकै खाली जग्गामा टोलवासीहरुले फोहोर फ्याँकिदिँदा दुर्गन्धले नाक थुनेर बस्नुपर्ने अवस्था थियो ।

अहिले भने टोल-टोलमा ठेलाबाट फोहोर संकलन हुन थालेपछि वातावरण पनि स्वच्छ भएको छ,’ उनले भने । नगरपालिकाको मात्र मुख नताकेर टोलवासीहरु आफैँ जागरुक भई यस्ता सरसफाई अभियान चलाउनु पर्ने उनको धारणा छ ।

प्रकाशित समय १४:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु