गृहपृष्ठ कुहिएको चामल आपूर्ति गर्ने फर्मलाई २ लाख रूपैयाँ जरिवाना

कुहिएको चामल आपूर्ति गर्ने फर्मलाई २ लाख रूपैयाँ जरिवाना

धनगढी उपमहानगरपालिकालाई राहतको चामल आपूर्ति गर्ने फर्मलाई दुई लाख रूपैयाँ जरिवाना गरिएको छ । उपमहानगरपालिकालाई खाद्यान्न आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई जरिवाना गरिएको हो ।

उपमहानगरपालिकाले बाँडेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले विरोध गर्दै चामल फिर्ता गरेका थिए । चामल कुहिएको फेला परेपछि जिल्लास्थित अनुगमन समितिले आपूर्तिकर्तालाई दुई लाख जरिवाना गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी दीपक कुँवरले बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेवापत २ लाख रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए । सो आपूर्तिकर्ताले आपूर्ति गरेको वस्तु वितरण नगर्ने गरी रोक्का गरिएको जनाइएको छ । कुहिएको चामल दिइएको भन्दै स्थानीयले फिर्ता गरेपछि धनगढी उपमहानगरपालिका- ४ शिवपुरीस्थित गोदाममा समेत अनुगमन गरिएको थियो ।

उपमहानगरपालिकाले २ करोड ६१ लाखमा ३ हजार ३ सय क्वीन्टल चामल, ८ सय क्वीन्टल दाल लगायतका खाद्य सामग्री खरिदका लागि ठाकुर ट्रेडसँग ठेक्का सम्झौता गरेको थियो । आपूर्तिकलाईलाई कारवाही गरिए पनि टेण्डर आह्वान, सम्झौता र वितरणका क्रममा भएका अनियमितताबारे कुनै छानबिन हुन सकेको छैन ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु