fbpx
corona information

गृहपृष्ठ राहत बाँड्न लिसंखु पाखरदेखि काठमाडौँसम्म

राहत बाँड्न लिसंखु पाखरदेखि काठमाडौँसम्म

लोकन्थलीमा राहत वितरण गर्दै लिसंखु पाखरका जनप्रतिनिधि र कर्मचारी ।

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी राहत बाँड्न काठमाडौँ आएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा रहेका लिसंखु पाखरबासीलाई राहत बाँड्न गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोली काठमाडौँ आएको हो ।

लिसंखु पाखर ४ का अध्यक्ष कुमार लामा मोक्तानका अनुसार उपत्यकामा बसोबास गर्न पालिकाका करिब १ हजार ५०० परिवारलाई राहत बाँड्ने तयारी छ । ‘प्रतिपरिवार १५ किलो चामल र एक/एक किलो नुन र खानेतेल वितरण गरेका छौँ,’ उनले भने, ‘हिजोदेखि बाँड्न थालेका हौँ, आज सकिन्छ ।’ वडा नम्बर ४ का मात्र २०० परिवार रहेको उनले बताए ।

अध्यक्ष मोक्तानका अनुसार राजधानीमा लिसंखु पाखरका सातवटै वडा अध्यक्षको नेतृत्वमा कर्मचारीसहितको सातवटा टोली काठमाडौँका विभिन्न क्षेत्रमा खटिएको छ । उनीहरूसँग समाजसेवी कमल श्रेष्ठलगायतका व्यक्ति पनि राहत वितरणमा जुटेका छन् ।

काठमाडौँबाट मान्छे लैजाँदा संक्रमण फैलिने जोखिम उच्च हुने भएकाले यतै आएर राहत वितरण गर्न उपयुक्त हुने ठहर गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए । ‘यहाँबाट जाने एक जनाबाट मात्र संक्रमण गाउँ पुग्यो भने अहिलेसम्मका सबै प्रयास निरर्थक हुनेछन्,’ उनले भने, ‘त्योभन्दा अहिलेको प्रयास धेरै सुरक्षित हुने विश्वास छ ।’ टोलीले नागरिकता हेरेर राहत दिइरहेको छ ।

अध्यक्ष मोक्तानले काठमाडौँ पाएको राहतले नपुरेका कारण थप राहत दिन काठमाडौँ आउनुपरेको बताए । ‘गाउँपालिकाबासीले राहत नपुगेको गुनासो गरेपछि लिएर आएका हौँ,’ उनले भने ।

यसअघि, सिन्धुपाल्चोककै जुगल गाउँपालिकाले पनि काठमाडौँमा रहेका १३ सयभन्दा बढी परिवारलाई करिब २८ लाख रूपैयाँको खाद्यसामग्री वितरण गरेको थियो ।

प्रकाशित समय १७:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु