गृहपृष्ठ सीमा सुरक्षा गर्न म्यादी प्रहरी राख्दै गाउँपालिका

सीमा सुरक्षा गर्न म्यादी प्रहरी राख्दै गाउँपालिका

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिको सूचना जारी गरेर आजसम्म दर्खास्त दिन आह्वान गरेको छ ।

गाउँपालिकाले वडा नंं. ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं. ७ को भँगालेटार, वडा नं. ९ पर्ने मचुवा, सिम्ले र चुहार सीमानाकाबाट बिनाअनुमति हुने आवतजावतलाई रोक्नका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो ।

सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्काे जिल्ला, एक स्थानीय तहबाट अर्काे स्थानीय तह जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको हो । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै म्यादी प्रहरीका लागि इच्छुकले सम्पर्क गर्न सूचना जारी गरेको छ । त्यस्तै लकडाउनका बेला बन्द भएको आवागमनलाई ध्यान दिँदै गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेकाको नामावली सङ्कलन थालेको छ ।

गाउँपालिका क्षेत्रभित्र रहेका त्यस्ता व्यक्तिको विवरण संकलन गरेर स्वास्थ्य शाखासँगको समन्वयमा औषधि उपलब्ध गराउने गाउँपालिका स्तरीय ‘कोभिड-१९ र्‍यापिड रेसपोन्स टीम’ले निर्णय गरेको छ । कतिपय औषधि स्थानीय मेडिकलमा पनि नपाइने अवस्थामा ख्याल गर्दै सुगर, प्रेसर, दमलगायतका अन्य बिरामीलाई राहत पुगोस् भन्ने लक्ष्यले उनीहरूले सेवन गरिरहेको औषधि ल्याउन सहजीकरण गरिदिने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु