fbpx
corona information

गृहपृष्ठ महाकालीपारि नै रोकिए ५६३ नेपाली

महाकालीपारि नै रोकिए ५६३ नेपाली

पौडिएर नेपाली भूमिमा आउनासाथ प्रहरी नियन्त्रणमा

लकडाउनका कारण गृह मन्त्रालयले नेपाल प्रवेशको अनुमति नदिएपछि पाँच सय ६३ नेपाली महाकाली नदीपारि नै रोकिएका छन् । नेपाल-भारतको सीमापारि धार्चुलामा अलपत्र परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

उनीहरुले आफ्नो देश प्रवेश गर्न पाउनु पर्ने भन्दै भारतीय भूमिबाटै नाराबाजीसमेत गरेका थिए । लकडाउन गरे पनि आफूहरूलाई आफ्नो देश फर्कन दिइनुपर्ने उनीहरूको माग थियो ।

दार्चुलाका दुई र बैतडीका एक गरी तीनजना नेपाली भने महाकालीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली भूमिमा आउनासाथ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ ।

रोजगारीका लागि भारतकाे विभिन्न स्थान पुगेका उनीहरू त्यहाँको स्थानीय प्रशासनले घर फर्कन भनेपछि तीन दिनअघि सीमा नाका आइपुगेका थिए । कोरोना भाइरस फैलिएपछि ‍भारतको केन्द्र र राज्य सरकारले हवाई  तथा सडक यातायातसमेत बन्द गरेका कारणा उनीहरू धार्चुलासम्म हिँडेरै आएका थिए । उनीहरूमध्ये अधिकांश सुदूरपश्चिमका विभिन्न जिल्लाका छन् ।

पौडिएर नेपाली भूमि आइपुगेकालाई नियन्त्रणमा लिँदै प्रहरी ।

सोमबार बिहान न्युज कारोबारसँग कुरा गर्दै दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले समस्याकाबारे गृह मन्त्रालयमा जानकारी गराइए पनि नाका खोल्न अनुमित नदिएको बताएका थिए । ‘हामीले गृहमा जानकारी गराएका हाैं । तर नाका खोल्न अनुमति भएन । लकडाउन अवधिभर जो जहाँ छन्, त्यहीँ रहनुपर्ने भो,’ उनको भनाइ थियो ।

महाकालीपारि रोकिएका नेपालीहरूलाई लकडाउन अवधिभर त्यहीँको स्थानीय प्रशासनसँगको समन्वयमा खाने बस्नेको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार यसका लागि भारतीय पक्षसँग छलफल भइसकेको छ । ‘आवश्यक परे सहजीकरण हुन्छ,’ उनले भने ।

प्रकाशित समय २३:५५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु