fbpx
corona information

गृहपृष्ठ कोरोना संक्रमणको त्राससँगै थपियो के खाने चिन्ता

कोरोना संक्रमणको त्राससँगै थपियो के खाने चिन्ता

नोबेल कोरोनाभाइरस (कोभिड १९) संक्रमणको त्रास फैलिरहेका बेला काभ्रेकी गोपिनी अर्याल चैत ११ गते घर जाने तयारीमा थिइन् । सरकारले अघिल्लो बेलुका नै भोलिपल्टदेखि देशभर लागू हुने गरी ‘लकडाउन’ घोषणा गर्‍यो । भक्तपुरको लोकन्थलीमा हरियो मकै बेचेर गुजारा गर्दै आएकी उनी हिजो र आज दिनभर छट्पटाएर बसिन् ।

‘घर जान खोज्दाखोज्दै बन्द भइहाल्यो, अब के पो गर्ने होला ! यो कोरोना कि खोरोनाले त निकै गाह्रो पार्ला जस्तो छ,’ मास्क हटाउँदै उनले भनिन्, ‘कति दिन यस्तो होला है ?!’ नजिकै बसेका उनका श्रीमान् मुस्कुराए मात्र । उनको अनुहारमा पनि अन्योल त्यत्तिकै देखिन्थ्यो ।

‘कहाँबाट यस्तो महामारी आयो ? कसरी आयो ? अब के हुने हो ? मान्छे मरेको समाचार मात्र आउँछ । रोग फैलिएको फैलियै छ । काम गर्न नपाएपछि अब काठमाडौंमा के खाएर बस्ने हो ?’ उनले यस्ता अनेकौं प्रश्न र जिज्ञासा राखिरहिन् ।

बुधबार साँझ तरकारी पसलमा केही गृहिणी तरकारी लिन पुगेका थिए । मास्क लगाएर पनि सलले मुख र टाउको छोपेका उनीहरूमा पनि कोरोनाको त्रासभन्दा बढी खान नपाएरै मरिने हो कि भन्ने चिन्ता देखिन्थ्यो । ‘घरभित्रै बसेपछि कोरोनाबाट त बचिएला तर खाने चैँ के होला !’ एक जनाले मास्क भित्रैबाट भनिन्, ‘आजदेखि नै तरकारी पाइएन, अझ कति यस्तो हुने हो ।’

तरकारी साहुनी पनि उत्तिकै तनावमा रहिछन् । भनिहालिन्, ‘अब के गर्ने त ! एकाबिहानै कालिमाटी पुगेँ, ताला लागिरहेको थियो, नरेफाँटमा यही मुला र च्याउ भेटेर ल्याएँ, यस्तै हो भने तरकारी पाउन अब धेरै गाह्रो होला ।’

अहिले कोरोना संक्रमणको त्राससँगै काठमाडौंबासी यस्तै चिन्तामा छन् । सक्नेले, हुनेले पहिले जोहो गरेको चामल र गेडागुडी खाइरहेका छन् । हरियो तरकारी पाउन छाडिसक्यो । दैनिक कमाएर खानुपर्नेका लागि लकडाउनको तेस्रो दिन नै कठिन भइसकेको छ ।

कोरोनाको त्रास उच्च भएसँगै लकडाउन गर्नु सरकारको बाध्यता हो । कोरोनाको ‘सोसल ट्रान्समिसन’ रोक्न लकडाउनलाई नै अनिवार्य र एकमात्र टुल्सको रूपमा विश्वभर अपनाइएको छ । विश्वकै विकसित अमेरिकादेखि स्पेन, इटाली, जर्मनीजस्ता देश कोरोनासँग काँप्दै जुधिरहँदा काठमाडौंले लकडाउनको निर्णय लिन ढिलाइ गर्नु पनि खतरालाई निम्त्याउनु बराबर थियो । चीनको वुहानमा कोरोना देखिएको डिसेम्बर ३१ तारिख र त्यसपछि विश्वभर फैलिँदै यहाँसम्म आइपुग्दाका दिन गन्ती गर्ने हो भने नेपालले पूर्वतयारीका लागि पर्याप्त समय पाएको थियो ।

तर, लकडाउनको बाध्यकारी अस्त्र चलाएको सरकारले मेडिकल टिम, किट्स र अन्य प्राविधिक उपकरण त छैन नै, खाद्यान्न र तरकारीको उपलब्धता पनि आजका दिनसम्म सुनिश्चित गर्न सकेन । पानी र दूधकै अभाव चुलिसकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार जारी गरेको सूचनाले पनि यसलाई पुष्टि गर्छ । सूचनामा भनिएको छ, ‘कोभिड १९ को विश्वव्यापी महामारी रोक्न सरकारले गरेको देशव्यापी बन्दाबन्दीको निर्णय कार्यान्वयका क्रममा आवश्यक दैनिक जीवनमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन, ढुवानी र बिक्री वितरण सहज हुन नसकेको गुनासो आएकाले आधारभूत खाद्यान्न, तरकारी, दूध, फलफूललगायत वस्तुको उत्पादन ढुवानी एवं बिक्री वितरण सुचारू रहने कुराको प्रत्याभूत गर्न सम्बद्ध सबैमा मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ ।’

विभागीय मन्त्री घनश्याम भुसालले बुधबार ट्विटरमा आएका गुनासामाथि टिप्पणी गरेका थिए, ‘बन्दाबन्दी (लकडाउन) आफैंमा कठोर निर्णय हो । नेपाली जनताले एक ढिक्का भएर महाभूकम्प र नाकाबन्दीको सामना गरेझैं यस संकटको पनि सामना गरिनेछ । खाद्यवस्तुको आपूर्ति सहज बनाउन सबै प्रयास गरिँदै छ ।’

त्यसपछि उनले गरेको प्रयास सूचनामार्फत बिहीबार बाहिर आएको हो । सरकारले बिहीबार ‘औषधी, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारीसाधनलाई सुचारु गर्ने निर्णय गरेको छ ।’ तर, यी निर्णय कार्यान्वयका लागि सरकारले कस्तो संयन्त्र बनाएको छ भन्ने जानकारी गराइएको छैन ।

कोरोनाभाइरस संक्रमणबाट नागरिकलाई बचाउन लकडाउन गर्ने निर्णयसँगै सरकारले आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित गरी अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयका सरकारी कर्मचारीलाई चौबिसै घण्टा काममा खटाउन सक्नुपर्ने विज्ञहरू बताउँछन् । निर्णय कार्यान्वयन गर्ने संयन्त्र प्रभावकारी भएन भने लकडाउनका बेला नागरिकले भोकै बस्नुपर्ने अवस्था आउन सक्नेतर्फ सरकार बेलैमा सचेत हुन जरुरी रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित समय १७:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु