fbpx
corona information

गृहपृष्ठ सुदूरपश्चिममा लकडाउन : कञ्चनपुरका दुई नाकाबाट १७ जना भित्रिए

सुदूरपश्चिममा लकडाउन : कञ्चनपुरका दुई नाकाबाट १७ जना भित्रिए

अझै केही नेपाली बनवासाको पुलमा

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर ‘लक डाउन’ गरेको छ ।

लकडाउनको दोस्रो दिन आज पनि धनगढी बजार सुनसान बन्यो । अन्य दिन बिहानैबाट चहलपहल सुरु हुने सुदूरपश्चिम प्रदेशका प्रमुख सहरहरु लकडाउन लागू भएपछि सुनसान बने । मंगलबार बिहान केही मानिसहरु सडकमा आए पनि आज भने बजार क्षेत्रमा सुरक्षाकर्मी मात्र देखिए ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीसहित कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा, डोटी, बैतडीका मुख्य बजारहरु सुनसान रहे । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले आज थप कडाईका साथ विभिन्न ठाउँमा सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए । उनले सर्वसाधारणलाई अति आवश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै आज थप कडाइ गरिएको बताए ।

दुई नाकाबाट १७ जना भित्रिए

सदरमुकाम महेन्द्रनगरसहित कञ्चनपुरको गड्डाचौकी सीमा नाका तथा अन्य उद्योग कलकारखाना बन्द भए । भारतले समेत मंगलबार रातिदेखि लकडाउनको घोषणा गरेपछि सम्पूर्ण सीमा नाका ठप्प बने । यद्यपि कञ्चनपुरको ब्रह्मदेव नाकाबाट १० जना र गड्डाचौकी नाका भएर ७ जना नेपाली स्वदेश भित्रिएका छन् । अझै केही नेपाली बनवासाको पुलमा रहेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जानकारी दिएको छ ।

केही दिनअघि भारतको बैंगलोरबाट फर्केका शुक्लाफाँटा नगरपालिकाका एकजना शंकास्पद व्यक्तिलाई चेकजाँचका क्रममा ज्वरो बढी देखीएका कारण अहिले महाकाली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला अस्पतालका प्रवक्ता सरोज आचार्यले जानकारी दिए ।

यसअघि महाकाली अस्पतालको आइसोलेसनमा राखिएका तीन जनामध्ये दुई जनाको स्वाब टेकु अस्पताल पठाएकोमा लिखित रिपोर्ट आइनसके पनि मौखिक रुपमा भने नेगेटिभ भएको अस्पतालले जानकारी दिएको उनले बताए । उनका अनुसार आन्तरिक उडान तथा यातायात बन्द भएका कारण एक जनाको स्वाब धनगढीमै रहेको र समन्वय गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ ।

सात शैय्याको महाकाही अस्पतालको आइसोलेसनमा आउने शंकास्पद विरामीको संख्या बढ्दै गएमा संकलित स्वाब धनगढीमार्फत काठमाडौँ पठाउन लकडाउनका कारण कठिनाइ हुने अस्पतालले जनाएको छ ।

९२ सवारीसाधन कारबाहीमा

प्रहरीले लकडाउनको पालना नगर्नेलाई कारबाही पनि गरेको छ । कैलालीमा लकडाउनको उल्लंघन गर्ने ९२ सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका निकायले ट्रक, अटो र मोटरसाइकल गरी ९२ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रकाशित समय २१:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु