fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ साहित्य वर्गीय हुन सक्दैन : लेखक संघ

साहित्य वर्गीय हुन सक्दैन : लेखक संघ

नेपाली लेखक संघ कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रमका सहभागीले साहित्य वर्गीय हुन नसक्नेमा जोड दिइएका छन् । संघको चौथो अधिवेशन, लेखक वर्ष कृति पुरस्कार (गण्डकी) प्रदान तथा स्रष्टा सम्मान कार्यक्रमका वक्ताले साहित्य सिर्जना सास्वत मूल्यका लागि हुनुपर्ने बताए ।

लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा विष्णुबिभु घिमिरेले सिद्धान्तको पर्खालभित्र बसेर साहित्य लेखन हुन नसक्ने र लेखन क्षेत्रमा नयाँ पुस्तालाई अभिप्रेरित गर्दै अघि बढाउन आवश्यकता रहेको बताए ।

नेपाली लेखक संघका केन्द्रीय महासचिव रत्नमणि नेपालले वर्गीयतामा नभई सास्वत मूल्यका लागि साहित्य लेखन हुनुपर्नेमा जोड दिए । वरिष्ठ कवि तीर्थ श्रेष्ठले स्वतन्त्रताका अभावमा लेखन हुन नसक्ने र लेखक पार्टी विशेषको भरौटे बन्न नसक्ने धारणा राखे । लेखक फस्टाउनका लागि लेखकीय स्वाभिमान हुनुपर्ने उनले बताए ।

अर्का साहित्यकार शारदा पौडेलले विसं २००८ मा बिपी कोइरालालगायतका व्यक्तित्वबाट सुरु भएको नेपाली लेखक संघको विशिष्ट गरिमा र महत्व रहेको बताउँदै समग्र नेपाली साहित्यको उत्थानमा यसको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाली लेखक संघका जिल्ला अध्यक्ष गणेश शर्माले सङ्घको कास्की शाखाले गण्डकी क्षेत्रका लेखन प्रतिभालाई अभिप्रेरित गर्ने उद्देश्यका साथ यसै वर्षदेखि लेखक वर्ष कृति पुरस्कार प्रदान गर्न लागेको जानकारी दिए । उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँभन्दा बढीको अक्षयकोष सञ्चालनमा आइसकेको उनले बताए ।

सो अवसरमा दिव्याञ्जली उपन्यासका लेखक सरोज अर्याललाई लेखक वर्ष कृति पुरस्कार (गण्डकी) बाट पुरस्कृत गरियो । उनलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै कवि तेजनाथ घिमिरेलाई सम्मानपत्रबाट स्रष्टा सम्मान गरिएको थियो ।

अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल पौडेल ‘अथक’, सहसचिवमा सञ्जय न्यौपाने र कोषाध्यक्षमा मेघनाथ आचार्य रहेका छन् । समितिका सदस्यमा भरत पोखरेल (अञ्जान), शिवराम पौडेल (जुपिटर), श्रीराम अधिकारी र नगेन सिंह रहेका छन् । (रासस)

प्रकाशित समय ०८:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु