fbpx
corona information

गृहपृष्ठ पोखराका चार ठूला नहर, जहाँ अढाइ वर्षमा १८ जनाले गुमाए ज्यान

पोखराका चार ठूला नहर, जहाँ अढाइ वर्षमा १८ जनाले गुमाए ज्यान

पोखरा महानगरपालिकामा २९ हजार ८४७ हेक्टर खेतीयोग्य जमिन छ, जसका लागि आवश्यक सिँचाइ सुविधा पोखराका चारवटा ठूला नहरबाट उपलब्ध हुन्छ । ती नहरहरू हुन्‑ सेती, फेवा, बेगनास र विजयपुर । तर, यिनै ठूला नहरका कारण नै बर्सेनि ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या बढिरहेको छ ।

पोखरा सहरमा मानिसको चाप बढ्दै गएको छ । अव्यवस्थित सहरीकरण, अन्धाधुन्ध बाटो निर्माणलगायतका कार्यले गर्दा नहरहरु मिचिने क्रम बढ्दो छ । व्यवस्थापकीय निकायलाई थाहा हुँदाहुँदै पनि नियमनक लागि चासो देखाएको पाइँदैन । यस्ता घटना पटक‑पटक भइरहँदा पनि नहर व्यवस्थापनमा कसैको ध्यान पुगेको छैन ।

गत वर्ष चैत २७ गते पोखराका संगीतकर्मी श्रीमान धुलुङ राईको पोखरा १२, शीतलादेवीमा स्कुटर दुर्घटना हुँदा नहरमा परी ज्यान गयो । राति करिब साढे ९ बजे खसेका उनलाई बग्दो बेगमा रहेको सेती नहरले दुई किलोमिटर तल पुर्‍याएको थियो । यस्ता घटना बेला‑बेला नहरकै कारण भइरहेका छन् ।

कहिले बालक, कहिले वृद्ध त कहिले वयस्क नै नहरको सिकार बन्छन् । नहरमा मानिस नुहाउने, धुवाउनेलगायतका काम गर्ने गरेकाले पनि बढी यस्ता घटना हुने गरेका छन् ।

नहरको व्यवस्थापन गर्न नसकिने होइन । तारजालीको राम्रोसँग लगाएर नहरलाई सुरक्षित गर्न सकिन्छ । तर, तारजाली फाटेका या फटाइएका ठाउँमा पुन मर्मत नगरिँदा समस्या बढेको छ । तारजाली भत्किएका ठाउँबाटै बढीजसो यस्ता घटना हुने स्थानीय बताउँछन् । घटना पनि यति धेरै हुन थाले कि अचेल यी नहरलाई ‘मान्छे खाने नहर’को रुपमा चित्रण गर्न लिएको छ ।

गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समिति संयोजक दिपक कोइरालाले केही समयअघि प्रदेश सभामा यी नहरबारे बोलेका थिए । लामो दूरीका नहर तथा कुलाले पोखरामा अढाइ वर्षमा १८ जनाको ज्यान लिएको तथ्य उनले प्रस्तुत गरेका थिए । ‘नहरमा परी १८ जनाको ज्यान गइसक्यो, अझै केही बेपत्ता छन्, हामीले नहरकुलो त बनायौं तर यी बाटोमा हिँड्दा धराप राखेजस्ता छन्,’ उनले भनेका थिए, ‘सामान्य गल्ती हुँदा पनि बाटोमा सही ढंगले हिँडिरहँदा पनि नगरमा परेर वा बगाएर मृत्यु भइरहेको छ, नहरहरू खुला छोड्नु भएन ।’

पोखरा महानगरभित्र सिँचाइका मात्रै होइन, हाइड्रोपावरका नहर तथा कुला पनि खुला हुँदा जोखिम बढेको छ । करिब ४० वर्षअगाडि निर्माण भएका यहाँका नहर मानव बस्ती निकै बाक्लो भइसक्दा पनि उस्तै छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर सुमन खड्का दीर्घकालीन योजनाका लागि पहल भइरहेको बताउँछन् । उनी भन्छन्, ‘दीर्घकालीन योजनाका लागि हामीले एकदम जोखिमयुक्त क्षेत्रलाई छुट्टयाएर त्यहाँ तत्काल ठेक्का प्रणालीबाट तारजाली लगाउने काम गरेका छौं ।’ कुलोमाथिबाट कभर या स्ल्याब लगाउने योजना भने रहेको उनले बताए । ‘सबैभन्दा पहिला घटना भयो भने ड्यामबाट नै पानी बन्द गर्ने प्रणाली बनाएका छौं,’ उनले भने ।

घना बस्तीका बीचबाट नै बग्ने यस्ता नहरले पोखरेलीमा त्रास छाएको छ । यहाँका नहर तथा कुलोमा वर्षातको समयमा अत्यधिक पानीको बहाव हुने गर्छ, जसका कारण वर्षातको समयमै यस्ता घटना बढी हुने गर्छन् ।

प्रकाशित समय १२:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु