fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ टेण्डर भइसकेको योजनाको बजेट अन्यत्रै, वडा कार्यालयमा ताला

टेण्डर भइसकेको योजनाको बजेट अन्यत्रै, वडा कार्यालयमा ताला

राजनीतिक प्रतिशोधका कारण टेण्डर भइसकेको योजनाको बजेट अन्यत्रै हालेको भन्दै उपमहानगरपालिका विरुद्ध वडाका जनप्रतिनिधि र स्थानीय आन्दोलित बनेका छन् । धनगढी उपमहानगरपालिका- ३ मा बन्ने व्यवस्थित आर्यघाट वडा नम्बर ९ मा सार्न चलखेल भएको भन्दै वडाका जनप्रतिनिधी र स्थानीयले वडा कार्यालयमै तालाबन्दी गरेका छन् ।

संघीय सरकारबाट विनियोजित ४ करोड ४० लाखमध्ये १ करोड ६० लाखमा आर्यघाट निर्माणका लागि टेण्डर आव्हान भइसकेको थियो । वडा नम्बर ३ को बडहरामा बन्ने आर्यघाटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भइसकेको छ ।

व्यवस्थित आर्यघाट नहुँदा समस्या झेल्दै आएका वडा नम्बर ३ वासी आफूहरुको माग पूरा हुन लागेकोमा ढुक्का थिए । तर केही प्रलोभनमा नगर प्रमुखले नै आर्यघाट सार्ने चलखेल गरेको वडाका जनप्रतिनिधि र स्थानीयहरुको आरोप छ । वडा नम्बर ३ मा अध्यक्षसहित ३ सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हुन् भने दलित महिला सदस्य कांग्रेसबाट निर्वाचित हुन् ।

वडामा फरक पार्टीको बहुमत भएकै कारण मेयर नृपबहादुर वडले आफ्नो पार्टीको बहुमत भएको वडा ९ नम्बरमा व्यवस्थित आर्यघाट सार्ने चलखेल गरेको वडा नम्बर ३ का जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । यसप्रति उपमहानगरपालिकाले वेवास्ता गरेकोले माग पुरा नभएसम्म ताला नखोल्ने उनीहरुको भनाइ छ ।

डीपीआर तयार भइसकेको अवस्थामा उपमहानगरपालिकाले आर्यघाट सार्न नमिल्ने वडा नम्बर ३ का वडा सदस्य ओम चन्दको भनाइ छ । आर्यघाटका लागि लिखित रुपमा उपमहानगरपालिकामा निवेदन दिए पनि राजनीतिक प्रतिशोधकै कारण आर्यघाट अन्यत्रै सार्ने प्रयास भएको वडा सदस्य चन्दले बताए ।

नगर प्रमुख वडले स्थानीयकै कारण आर्यघाट सार्न खोजिएको बताएका छन् । ‘२ वर्षदेखि आर्यघाटको लागि योजना बनाएर काम सुरु गरेका थियौँ,’ नगर प्रमुख वडले भने, ‘स्थानीय र वडाका जनप्रतिनिधिहरुले नै काम गर्न दिएनन् ।’ वडा कार्यालयमा ताला लगाउने कुरा उचित नभएको भन्दै मेयर वडले आवश्यकता आधारमा काम गर्ने बताए । कसैले ताला लगाएर काम हुनेभन्दा आवश्यकता र वातावरणका आधारमा काम गर्ने मेयर वडको भनाइ छ ।

प्रकाशित समय १८:०३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु