fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ बाँकी जीवनभर दृष्टिविहीनका लागि काम गर्ने ‘वैज्ञानिक बा’को संकल्प

बाँकी जीवनभर दृष्टिविहीनका लागि काम गर्ने ‘वैज्ञानिक बा’को संकल्प

युवकको जवाफ सामान्य थियो तर अर्थ गम्भिर

baigyanik ba_pokhara

बागलुङ जाने सिद्धार्थ राजमार्गको छेवैमा टिनले छाएको सानो घर छ । त्यो घर हो पोखरा- ५ पर्स्याङ निवासी दीनबन्धु कोइरालाको । घरको अगाडिपट्टि रहेको कोठामा दृष्टिविहीनहरुका लागि आवश्यक पर्ने सामग्रीहरु अटाइ-नअटाई छन् । सौर्य प्रणालीसहित विश्वको नक्सा लगायतका वस्तुहरुले कोठा भरिएको छ । ती सामानहरु कतैबाट किनेर ल्याइएका भने होइनन् ।

वरिपरी रहेको बगैंचाको सुन्दरताले गर्दा पर्खालले घेरिएको त्यो सानो घरले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छ । २ कोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय कोइराला ।

साना केटाकेटीले उनलाई बोलाउने नाम हो, ‘वैज्ञानिक बा’ । वास्तवमा उनी वैज्ञानिक नै भने होइनन् । वैज्ञानिक बाका दुईमध्ये एक छोरा पोखरामै प्राध्यापन गर्छन् । अर्को छोरा अमेरिका छन् । श्रीमती पनि छोराहरुसँगै बस्छन् । उनलाई ठूलो घरमा बस्न मन पर्दैैन । भन्छन्, ‘छोराहरुले सँगै बसौं त भन्छन् । तर मलाई सानो घरमा बस्न रमाइलो लाग्छ ।’

एसएलसीपछि भूमि सुधारमा १० वर्ष जागिर खाए उनले  । लोकसेवा उत्तीर्ण गरी खाद्य संस्थानमा १८ वर्ष काम गरेका उनले नायब सुब्बामा अवकाश लिए । उनी अहिले दृष्टिविहीनहरुलाई सहजताका लागि प्रयोग हुने नयाँ-नयाँ सामग्रीहरु आविष्कार गर्छन् । उनको घर प्रयोगशालाजस्तै छ ।

काम नलाग्ने र खेर गएका सामग्रीको प्रयोगबाट उनले बनाएका सामग्री हेर्दा सामान्यजस्तो लागे पनि दृष्टिविहीनहरुका लागि भने निकै महत्वपूर्ण छन् । सौर्य प्रणाली, तारामण्डल, विश्वको नक्सा र लेख्न मिल्ने सजिलो बोर्ड, गणितीय हिसाब गर्नको लागि गुणा तालिका बोर्ड लगायतका छामेर बुझ्न सकिने सामग्रीहरु उनले आफ्नै अवधारणामा बनाएका हुन् ।

काम नलाग्ने प्लाइउड, काठको टुक्रा, काठको धूलो, धागो, काँटी, कागज, फलाम र टिनलगायत सामान प्रयोग गरेर उनी यस्ता शिक्षण सामग्री तयार पार्छन् । आफूले बनाएका उक्त सामग्री विभिन्न विद्यालयलाई दिन्छन् ।

पोखरा प्रदर्शनी केन्द्रमा हुने शैक्षिक सामग्रीहरुको प्रदर्शनीमा उनी आफूले बनाएका सामग्रीहरु लैजान्छन् । ‘राम्रो प्रतिक्रिया आउँछन्, खुसी लाग्छ । मैले बनाएको शैक्षिक सामग्रीको अवलोकन गर्न विभिन्न विद्यालयबाट विद्यार्थी, प्राध्यापकसमेत घरैमा आउनुहुन्छ,’ उनले भने । उनले बनाएका सामग्रीहरु पोखराकै अमरसिंह नमूना माविलाई हस्तान्तरण गरेका छन् । अमरसिंहमा दृष्टिविहीन विद्यार्थीलाई उनले दुई वर्ष पढाए पनि ।

बसका सहयात्री युवकबाट चकित

करिब ३० वर्षअघि कार्यालयको कामले पोखराभन्दा बाहिर गएका थिए उनी । पोखरा फर्किने क्रममा उनको सिट पार्टनर थिए एक दृष्टिविहीन युवक । सँगै यात्रा गर्ने तय भएपछि युवकसँग चिनापर्ची भयो । बाटोमा धेरै कुराकानी भयो । तर ती युवकको नाम भने कोइरालालाई अहिले भने सम्झना छैन । पोखरा आइपुगेपछि युवकको एउटा कुराले उनलाई चकित बनायो । जसका कारण दृष्टिविहीनहरुका लागि केही गर्ने प्रेरणा उनको मनमा जाग्यो ।

ती युवाले विपरीत दिशाबाट आएको गाडीको नम्बर बताइदिए । आश्चर्य मान्दै दिनबन्धुले सोधेका थिए, ‘बाबु, यो कसरी पत्ता लगायौ तिमीले ?’ आफू त्यो गाडीमा यसअघि नै चढिसकेको र त्यही सम्झनाले अड्कल काटेको भन्ने जवाफ सुनेर उनी छक्क परे । त्यो असाधारण क्षमताबाट कोइराला प्रभावित बने ।

युवकको जवाफ सामान्य थियो । तर, अर्थ भने गम्भिर । ती युवकको उत्तरले दिमागमा अनेक कुरा सोच्न बाध्य बनायो कोइरालालाई । दृष्टिविहीनहरुले अवसर पाए दृष्टि भएकाले भन्दा राम्रो काम गर्न सक्छन् भन्ने उनलाई लाग्यो ।

पोखरा फर्केपछि उनले दृष्टिविहीनहरुमाथि अध्ययन गरे । त्यस क्रममा दृष्टिविहीनहरुका लागि अध्ययन सामग्रीको अभाव देखेपछि ‘वैज्ञानिक बा’को कथा सुरु भएको हो । त्यसपछि उनले प्रयोगशाला स्थापना गरे र सुरु गरे उत्पादन । हालसम्म उनले सयभन्दा बढी किसिमका त्यस्ता सामग्री बनाइसकेका छन् ।

आफूले बनाएका सामग्रीहरु दृष्टिविहीन पढ्ने विद्यालयमा लगेर दिन पाउँदा उनलाई आनन्द लाग्छ । ‘सामग्री किन्न ग्राहक पनि आउँछन् तर म बेच्दिनँ,’ सजाएर राखिएका सामानहरु हेर्दै दिनबन्धु भन्छन्, ‘मैले यो बेच्नको लागि बनाएकै होइन, पैसा कमाउन त अरु नै काम गरेको थिएँ ।’ अबको बाँकी जिन्दगी दृष्टिविहीनहरुका लागि अध्ययन सामग्री बनाएरै बिताउने उनको संकल्प छ ।

 

प्रकाशित समय १४:४२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु