fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ तीनै तहका सरकार मिलेर मनको छाउगोठ भत्काउनुपर्छ : मन्त्री गुरुङ

तीनै तहका सरकार मिलेर मनको छाउगोठ भत्काउनुपर्छ : मन्त्री गुरुङ

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले तीनै तहका सरकार मिलेर मनको छाउगोठ भत्काउनुपर्ने बताएका छन् । बुधबार सुर्खेतमा आयोजित ‘छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवदर्द्धनका लागि साझा अभियान २०७६’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भौतिक रुपमा छाउगोठ भत्काएर अभियान सफल नहुने मन्त्री गुरुङको भनाइ थियो । ‘कर्णालीलाई समृद्ध प्रदेश निर्माण गर्ने हो भने सामाजिक कुरीतिहरुको अन्त्य गर्नेपर्छ,’ उनले भने ।

सामाजिक क्षेत्रको कार्यक्रमलाई गौरवको कार्यक्रम मान्नुपर्ने मन्त्री गुरुङको धारणा थियो । यस्ता कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम नमानेसम्म राज्य समृद्ध नहुने उनले बताए । आगामी वर्ष कर्णालीका महिलाको छुट्टै पहिचान हुनेगरी मन्त्रालयले कार्यक्रम र बजेटको व्यवस्था गर्ने मन्त्री गुरुङले प्रतिवद्धता व्यक्त गरे ।

महान्यायधिवक्ता अग्नि खरेलले छाउपडी मान्ने वा मान्न बाध्य बनाउने जोकोही पनि फौजदारी कानुनको दायरामा पर्ने बताए । ‘महिलाको महिनावारीलाई समाजले पापको रुपमा लिने भए महिनावारी नै बन्द गर्ने कार्यक्रम ल्याउनुपर्‍यो । नत्र, महिनावारी प्राकृतिक प्रक्रिया हो भने महिलालाई घरबाट निकाल्ने अधिकार कसैलाई छैन,’ उनले भने ।

अछामकी पार्वती रावलको छाउगोठमामा मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको जानकारी दिँदै महान्याधिवक्ता खरेलले कुनै पनि हालतमा यो अभियान नरोकिने बताए । ‘अब कोही पनि महिला छाउगोठमा भेटिए प्रहरीले तत्काल पक्राउ गर्छ । र महान्याधिवक्ताको कार्यालयले मुद्दा अगाडि बढाउँछ,’ उनले भने । छाउगोठ जानेभन्दा पनि घरको मुख्य मान्छे जसले छाउगोठमा जान बाध्य बनाउँछ, उसलाई कानुनको कठघरामा उभ्याउने उनले बताए ।

प्रहरी महानिरिक्षक (आईजीपी) सर्वेन्द्र खनालले सुदूरपश्चिम र कर्णालीमा गरी ४ हजार ६ सय छाउगोठ भत्काइएको जानकारी दिए । उनले कुनै पनि हालतमा प्रहरी प्रशासनले छाउगोठ भत्काउने र छाउपडी प्रथा मान्नेलाई पक्राउ गर्न पछि नपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका महासंघ कर्णाली प्रदेशको तर्फबाट अध्यक्ष भिमबहादुर सेन, नगरपालिका महासंघ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष नरबहादुर खड्का, जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेशको तर्फबाट अध्यक्ष राजकुमार शर्मा, प्रदेश सरकारका प्रवक्ता बिमला केसी, उपसभामुख पुष्पा घर्ती, प्रतिनिधी सभा सांसद ध्रुवकुमार शाही, नेपाल सरकारका स्वास्थ्य, जनसंख्या तथा राज्यमन्त्री नवराज रावत र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल लगायतले साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

आगामी असार महिनाभित्र कर्णालीमा छाउपडी अन्त्य गर्ने र सबै महिलालाई घरभित्र बस्ने वातावरण सिर्जना गर्नको लागि जनचेतनाका कार्यक्रम आयोजना गर्ने गरी प्रतिवद्धता व्यक्त गरिएको हो । साझा प्रतिवद्धतासहित एकदिने अन्तर्क्रिया कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, नागरिक अगुवा उपस्थित थिए ।

प्रकाशित समय १८:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु