fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ देशको कानुन सुरूदेखि नै अमिल्दो छ : पूर्वप्रधानन्यायाधीश उपाध्याय

देशको कानुन सुरूदेखि नै अमिल्दो छ : पूर्वप्रधानन्यायाधीश उपाध्याय

द्वन्द्वकालमा मारिएका र बेपत्ता भएकाहरुको आफन्तले अझैसम्म न्याय पाएका छैनन् । उनीहरुले लामो समयदेखि सरकारसमक्ष न्यायका लागि आवाज उठाउँदै आइरहेका छन् ।

देशमा न्यायको व्यवस्था गर्ने जिम्मेवारी पाएकाहरु नै स्वार्थपूर्ण दलका मानिस भएकाले द्वन्द्व पीडितहरुले न्याय नपाएको पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘मुक्तिनाथ अधिकारी १८औँ वार्षिक स्मृति कार्यक्रम’मा बोल्दै उनले देशको कानुन सुरूदेखि नै अमिल्दो रहेको बताए ।

सम्बन्धित पक्षसँग छलफल नै नगरी नेताहरु मात्र मिलेर हतारमा आयोग गठन गरिएका कारण द्वन्द्व पीडितहरुले न्याय नपाएको उपाध्यायले बताए । ‘आयोगमा काम गर्ने व्यक्ति स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्छ । कानुन बनाउँदा पीडितलाई पनि सँगै राख्नुपर्छ,’ उनले भने, ‘आयोग पनि अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ ।’

राज्यले पीडितको आँसु र सहिदको रगतको अपमान गरेको भन्दै सरकार गैरजिम्मेवार बनेको मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानका सचिव सुमन अधिकारीले बताए । उनले न्याय पाउन कति समय कुर्नुपर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

द्वन्द्वकालमा आफन्त गुमाएकी देवी सुनारले राज्यले पीडितको आवाज नसुनेको गुनासो गरिन् । सबै पीडितहरु संगठित भइसकेकाले न्यायका लागि अब एकजुट भएर अघि बढ्नु पर्ने उनको भनाइ थियो ।

द्वन्द्वकालमा तत्कालीन माओवादीले मुक्तिनाथ अधिकारीको २०५८ साल माघ ३ गते हत्या गरेको थियो । उनको सम्झनामा एमनेस्टी इन्टरनेसनल नेपाल र प्रतिष्ठानले स्मृति कार्यक्रमको आयोजना गरेको हो । पेशाले शिक्षक रहेका अधिकारी उनी एमनेष्टी इन्टरनेशनलको स्थानीय संयोजक पनि थिए ।

प्रकाशित समय १९:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु