fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ ‘साइलेज’ घाँसको प्रयोगले पशुपालनको लागत खर्च घट्यो

‘साइलेज’ घाँसको प्रयोगले पशुपालनको लागत खर्च घट्यो

झापामा व्यावसायिक पशुपालन गर्नेको संख्या बढेसँगै ‘साइलेज’ प्रविधिको घाँसतर्फ आकर्षण बढेको छ । अन्य आहारको तुलनामा साइलेज घाँस पशुलाई खुवाउँदा दूध उत्पादन बढ्ने भएपछि यसतर्फ आकर्षण बढेको हो ।

पशु आहारको समस्या हुन थालेपछि झापाका पशुपालक कृषक साइलेज घाँसको उत्पादनमा आकर्षित हुन थालेका छन् । हरियो घाँसलाई गुन्द्रुकजस्तै प्रक्रियाबाट बनाइने साइलेज घाँस पशुलाई खुवाउँदा दूध उत्पादनमा वृद्धि भएपछि विशेषगरी व्यवसायिक रुपमा दुग्ध उत्पादक कृषक त्यसप्रति आकर्षित भएका हुन् ।

दाना, चोकर लगायतका पशु आहारको मूल्य निरन्तर वृद्धि भएका कारण दुधको उत्पादन लागत बढिरहेको छ । पशुपालनबाट दूध तथा मासु उत्पादन वृद्धि गर्न पशुलाई मुख्यतः हरियो आहार चाहिन्छ । त्यसकारण साइलेज घाँस उत्पादन गर्न उपयुक्त भएकाले यो प्रविधि पशुपालक तथा दुग्ध उत्पादक कृषक रोजाइमा परेको झापा विर्तामोडका कृषक नरेन्द्रप्रसाद गरागाईँले बताए ।

यो प्रविधिबाट घाँस उत्पादन गर्न झापाको बाहुनडाँगी, राजगढ, दमक र बाह्रदशका किसानले मकै खेती लगाएका छन् । ‘एडभन्टा’ जातको उक्त मकै घोघा लागेपछि सिंगो बोटबाट साइलेज घाँस बनाइन्छ । यसले गर्दा मकैको फेददेखि नै गुलियोपन बढी हुने, हरियोपनसमेत रहने भएको हुँदा पशुले बढी रुचाउने गर्छ ।

पशुका लागि आवश्यक प्रोट्रिनसमेत यो घाँसमा पाइने भएकाले गाईभैैँसीमात्र नभएर उन्नत जातका बाख्रापालक कृषकलाई समेत फलदायी भएको झापाको बुद्धशान्ति गाउँपालिकाका कृषक हर्क तामाङले बताए ।

पशुपालन तथा दुग्ध उत्पादक संघ झापाका अनुसार संघमा मात्रै ९५ वटा गाईभैँसी तथा २५ वटा बाख्रा फर्म दर्ता छन् । प्रदेश १ सरकारले समेत ‘साइलेज’ घाँस उत्पादनमा कृषकलाई अनुदान प्रदान गर्न थालेको छ ।

संघमार्फत् साइलेज घाँस उत्पादनका लागि प्रदेश सरकारले ८ करोड रुपैयाँ बजेट छुट्याएर कार्यक्रम अघि बढाएको संघका अध्यक्ष एलपी सिटौलाले बताए । पछिल्लो पटक कृषकहरुले पशुपालन गर्ने पद्धति परिवर्तन गर्दै लगेका छन् । साइलेज घाँसको प्रयोग हुन थालेपछि पशुजन्य उत्पादनको लागत मूल्यसमेत घटेको छ ।

प्रकाशित समय १८:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु