fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ आरक्ष पीडितका समस्याको समाधान खोज्न दुई मन्त्री कञ्चनपुर जाँदै

आरक्ष पीडितका समस्याको समाधान खोज्न दुई मन्त्री कञ्चनपुर जाँदै

कञ्चनपुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने विषयमा खानेपानी मन्त्री बिना मगर, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको टोली शनिबार कन्चनपुर जाने भएको छ ।

मन्त्री मगरले कञ्चनपुरका आरक्ष पीडितको उचित बासस्थानको व्यवस्था गर्ने प्रतिबद्धता जनाए अनुसार उनकै अग्रसरतामा दुई मन्त्री कन्चनपुर जान लागेका हुन् । यसअघि तीनैजना मन्त्रीहरूले सिंहदरबारमा आरक्ष पीडितहरुको समस्या समाधान गर्न सामूहिक छलफल गरेका थिए । कञ्चनपुरका आरक्ष पीडित सुकुम्बासी जनताको मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्ने तीनैजना मन्त्रीले यसअघि प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसअघि पनि आरक्ष पीडितहरुले वन तथा वातावरणमन्त्री बस्नेतसँग भेट गरी आफूहरुको मागलाई सम्बोधनका लागि सरकारले उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका थिए । वनमन्त्री बस्नेतले त्यस क्षेत्रका पीडित जनताको उचित बसोबासका लागि व्यवस्थापन चाँडो गरिने बताएका थिए ।

छलफलमा भूमि व्यवस्थामन्त्री अर्यालले विस्थापित आरक्ष पीडितहरुको मागलाई चाँडै सम्बोधन गरिने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पहल गर्ने प्रतिबद्धता गरेकी थिइन् ।

तत्कालीन सरकारले सशस्त्र द्वन्द्वको बेला संकटकालको समयमा आरक्षलाई विस्तार गर्ने भन्दै त्यस क्षेत्र वरिपरिका जनतालाई अन्यत्र पठाएको थियो । यस अघिका सरकारले विभिन्न आयोग बनाए पनि समस्याको कुनै निकास ननिकालेको पीडितहरूको आरोप छ ।

२०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारका क्रममा तत्कालीन सरकारले जिल्लाका दश गाविस रौतेली बिचुवा, बेल्डाँडी, रामपुरविलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुर लगायतका स्थानबाट बस्ती विस्थापित गरेको थियो । विस्थापित भएका परिवारले हालसम्म पनि जग्गा पाउन सकेका छैनन् ।

संकटकालका बेला विस्थापित भएका परिवारहरू शिविर बनाएर अझै पनि खुला आकाशमुनि जीवन बिताइरहेका छन् । लामो समयदेखि शिविरमा टहरा बनाएर बस्दै आएका विस्थापित परिवारले जग्गा दिएर भएर पनि सरकारले समस्याको समाधान गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित समय १७:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु