fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ ‘छाउपडी पीडित’ शिक्षिकाको अठोट- आफ्नै घर बनाएरै छाड्छु

‘छाउपडी पीडित’ शिक्षिकाको अठोट- आफ्नै घर बनाएरै छाड्छु

छाउगोठ भत्काएपछि बाख्राको खोरमाथि उनको बास हुने गरेको छ

फाइल तस्बिर

‘विवाह गर्नुअघि छाउगोठ भनेर सुनेकी मात्रै थिएँ । अनुभव गरेकी थिइनँ । विवाह भएपछि महिनावारी हुँदा छाउगोठमा बस्न लगाइयो । सुरुमा त मैले मानिनँ पनि । तर घरपरिवारले जबर्जस्ती गरेपछि मेरो मात्रै केही लागेन ।’

यो कहालीलाग्दो बिलौना हो पञ्चपुरी नगरपालिका- ८ माझीगाउँकी कल्पना नेपालीको । १२ कक्षासम्मको अध्ययन पूरा गरेकी उनी स्थानीय विद्यालयकी शिक्षिका हुन् । उनलाई छाउपडी प्रथा अन्धविश्वास हो भन्ने थाहा पनि छ । तर परिवार र समाजको अगाडि उनको केही जोर चलेको छैन, र चल्लाजस्तो पनि लाग्दैन उनलाई ।

‘घरभन्दा टाढाको गोठमा चिसो र सर्पको डरले रातभरी सुत्नै सक्दिनँ थिएँ । जंगली जनावरको पनि उत्तिकै डर लाग्ने । अझ खराब नियत भएका मान्छेहरुको डर भयानक हुन्थ्यो । कति बेला बलात्कृत हुन्छु भन्ने डरले छाउपडीका मेरा हरेक रात नसुतेरै कट्थे,’ कल्पनाले आफ्नो पीडादायी छाउपडी अनुभव सुनाइन् । सुर्खेतकै बराहताल गाउँपालिकामा माइती भएकी कल्पनाले विवाहअघि छाउगोठमा बस्नु परेको थियो ।

‘विवाह भएको ८ वर्ष भयो,’ उनले भनिन्, ‘आठ वर्ष नै महिनावारी हुँदाका मेरा रातहरु कष्टकर भए ।’ केही समय किशोरी संवाद केन्द्र नामको संस्थामा काम गरेकी कल्पनालाई छाउगोठकै कारण नैतिक संकट पनि नपरेको होइन । छाउपडीविरुद्ध अभियान सञ्चालन गर्दा उनलाई किशोरीहरुले प्रश्न गर्थे, ‘म्याडमको घरमा पनि छाउगोठ छ । हामीलाई मात्रै किन छाउ नबस्नु भन्नुहुन्छ ?’ त्यो बेलामा आफू ढाँटेर जोगिएको कल्पनाले सुनाइन् ।

घरमा कोही बिरामी परे पनि आफूलाई ‘छुइछिटो’ गरेर बिरामी पारेको आरोप आउने गरेपछि बाध्यताले छाउगोठ बस्ने गरेको उनी बताउँछिन् । ‘धेरैपटक परिवारलाई छलेर घरभित्रै बस्न खोजेँ । तर सासु, जेठानीहरुले महिनावारीको पालो कहिले हो ? भन्दै सोध्ने गरेकाले सुखै पाइनँ,’ कल्पना भन्छिन् ।

छाउगोठ भत्काइँदै ।

छाउपडी प्रथा हटाउने अभियानको क्रममा कल्पनाको घरमा भएको छाउगोठ पनि भत्काइयो । तर उनले घरभित्रै बस्न भने अझै पाएकी छैनन् । अहिले उनको बास बाख्राको खोरमाथि हुने गरेको छ । ‘गाउँका महिलाहरु छाउगोठ भत्काइएपछि कि त बाख्राको खोरमाथि, नभए गाइवस्तुको गोठमाथि सुत्नु परेको छ,’ उनले भनिन् । अब कल्पनाको एउटैमात्र अठोट छ, आफ्नै घर बनाउने । भन्छिन्, ‘अब म दुख गरेरै भए पनि घर बनाएरै छाड्छु । अनि मात्र घरभित्रै बस्न पाउने भएँ ।’ आफ्नै घर भएपछि गोठ वा कटेरोमा रात काट्नु नपर्ने उनको विश्वास छ ।

पञ्चपुरीकै १६ वर्षीय मुना दर्लामीको पनि महिनावारी सुरु भएदेखि नै छाउगोठ सँगको नाता छ । ‘महिनावारी भएको बेलामा अत्याधिक पेट दुख्थ्यो । परिवारका सबैजना घरभित्र, आफू मात्र कटेरोमा रात बिताउनु पर्दा एक्लोपनको महसुस हुन्छ,’ उनले पीडा सुनाइन् ।

उनलाई छाउ बस्नु पर्ने डरले महिनावारी शब्द सुन्दा मात्रै पनि पीडा हुन्छ । आमाबुवालाई सम्झाउन खोज्दा पनि देउता खुशी नहुने भन्दै बाहिरै बस्न लगाउने गरेको दर्लामीले बताइन् । ‘पेट दुख्नु र चिसो हुनु सामान्यजस्तै लाग्छ,’ उनी भन्छिन्, ‘तर मान्छेको डर भने छाउगोठमा बसेको बेलामा असाध्यै लाग्छ ।’

कल्पना र मुनाजस्तै महिनावारी भएको बेला छाउगोठभित्र डर र त्रासमा अनिँदो रात कटाउने किशोरी र महिलाहरु धेरै छन् । जंगली जनावरको डर त एकातिर छँदैछ, कतिबेला बलात्कृत भइएला भन्ने पीरले उनीहरुको ति रातहरु कष्टप्रद हुनेगर्छ ।

छाउगोठ भत्काइँदै ।

छाउप्रथा निर्मूल पार्न प्रशासनले चलाएको अभियानले तत्कालका लागि केही हलचल ल्याए पनि दीर्घकालीन रुपमै प्रभावकारी हुनेमा आशंका छ । प्रहरी र स्थानीय जनप्रतिनिधिको अगुवाइमा छाउगोठ भत्काइएपछि महिनावारी भएका महिलाहरु घरकै कुनै कुना वा कोठामा बस्न थालेका छन् । तर महिनावारी हुँदा घरभित्रै बसे परिवारमा अनिष्ट हुने अन्धविश्वास धेरैमा कायमै छ । वा, घरमा केही विपद आइलागे त्यसको लाञ्छना आफूमाथि लाग्ने डरले शिक्षित महिलाहरु पनि छाउगोठमै बस्न बाध्य छन् ।

प्रकाशित समय १६:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु