fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ सुर्खेत सिटी बसपार्कको टेन्डर प्रक्रिया सुरु नगर्न अदालतको आदेश

सुर्खेत सिटी बसपार्कको टेन्डर प्रक्रिया सुरु नगर्न अदालतको आदेश

uchcha adalat surkhet

उच्च अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिकालाई सिटी बसपार्कको टेन्डर प्रक्रिया सुरु नगर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय नित्यानन्द पाण्डे र सुदर्शनदेव भट्टको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश दिएको हो ।

एक साताअघि वीरेन्द्रनगर नगरपालिकाको पुरानो बसपार्कमा व्यवसाय गरिरहेका ४१ व्यवसायीले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालविरुद्ध रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले सोमबार अन्तरिम आदेश जारी गरेको सूचना अधिकारी वीरेन्द्रकुमार मल्लले जानकारी दिए ।

वि.सं. २०६८ साल असार ३ गते वीरेन्द्रनगर नगरपालिका र व्यवसायीहरुसहित बसेको सर्वदलीय बैठकले साविकको पुरानो बसपार्कमा व्यापार गरिरहेका व्यवसायीलाई बसपार्क निर्माणपश्चात व्यापार व्यवसाय गर्न दिने निर्णय गरेको थियो । सो निर्णयविपरीत २०७६ असोज ११ गते वीरेन्द्रनगर नगरपालिकाको बैठकले स्वीकृत गरेको कार्यविधिका आधारमा ०७६ मंसिर १६ गते ठेक्का टेन्डर सूचना प्रकाशित गरेपछि व्यवसायीले रिट दायर गरेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले पुराना व्यवसायीलाई प्राथमिकता दिने मात्रै निर्णय भएको बताए । ‘टेन्डर आह्वान गरिसकिएको छ,’ उनले भने, ‘तर सम्मानित उच्च अदालतले दिएको आदेशको कार्यान्वयन गर्नुपर्छ ।’

प्रकाशित समय १८:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु