fbpx
corona information

गृहपृष्ठ बाढीबाट पुग्न सक्ने क्षति रोक्न जैविक तटबन्धन प्रभावकारी

बाढीबाट पुग्न सक्ने क्षति रोक्न जैविक तटबन्धन प्रभावकारी

जैविक तटबन्धन गरेर नदी कटानको समस्याबाट आफ्नो जग्गा सुरक्षित हुँदा मनिराम चौधरी खुसी देखिन्छन् । कैलाली जिल्लाको दक्षिणी सीमा क्षेत्र हुँदै बग्ने मोहना नदी किनारको बिसनपुर गाउँका मनिरामको जग्गा २०६४ र २०६५ सालमा आएको मोहना नदीको बाढीले पुर्दै कटानसमेत गरेको थियो ।

‘बाढीले कटानमा परेको जग्गा जोगाउन नदी छेउमा जैविक तटबन्धन गर्नु प्रभावकारी उपाय रहेछ भन्ने पहिले आफूलाई विश्वास लागेको थिएन,’ उनले भने, ‘यस्तो तटबन्धनले जग्गाको सुरक्षा भएको देखेर अहिले अरू ठाउँमा समेत जैविक तटबन्धन गर्ने गरेका छौँ ।’

सोही गाउँका भागीराम चौधरी र जितबहादुर चौधरीको जग्गा पनि जैविक तटबन्धन गर्दा जोगिएको छ । कटान रोक्न नदी किनारमा निर्माण गरिने ‘पक्की स्पर’ लाई बाढीबाट पुग्न सक्ने क्षतिलाई रोक्न पनि यस्तो जैविक तटबन्धन प्रभावकारी देखिएको भागीरामले बताए ।

नेपाल रेडक्रस सोसाइटी र मर्सिक्रोप्स नामक संस्थाको संयुक्त पहलमा कार्यान्वयनमा रहेको आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाअन्तर्गत कैलाली जिल्लाका बिसनपुर गाउँसहित बाढी र डुबानको बढी जोखिममा रहेका गाउँमा जैविक तटबन्धन गर्ने गरिएको छ ।

नदीमा पानीको प्रवाहलाई मध्यनजर गरी किनारमा बाँसको काठ लहरै गाडिसकेपछि बीच भागमा बालुवा भरिएको बोरा राखेर यस्तो जैविक तटबन्धन गर्ने गरिएको छ । आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजना कैलालीका कार्यक्रम निर्देशक कालीदास जोशीले भने, ‘नदी किनारको पहिलो भागमा बाँस र बालुवा भरिएको बोरा राखिसकेपछि क्रमशः दोस्रो भागमा माटो कटान हुन नदिने खालको काँस जातिको बिरुवा रोप्ने र त्यसयताको जग्गामा उखु खेती गरेर गरिने जैविक तटबन्धन प्रभावकारी देखिएको छ ।

स्थानीय स्रोत र साधन उपयोग गरेर धनगढी उपमहानगरपालिकाको फूलबारीस्थित नुक्लिपुर, ललितपुर, मोहनपुर र भजनी नगरपालिकाको पचलापुरुवालगायत नदी किनारका गाउँमा जैविक तटबन्धन गरिएको छ ।

यसबाहेक जिल्लाको पहाडी क्षेत्र चुरे गाउँपालिकाका दुईवटा वडामा वृक्षरोपरण कार्यक्रमका साथै दुग्ध उद्योगलाई सहयोग गर्ने गरिएको छ । नदीमा पानीको सतह घटेको र बढेको समयमा तत्काल समुदायलाई सूचना दिने पद ‘गेज रिडर’ मा समेत कार्यरत मनिरामले भने, ‘विपद् व्यवस्थापन परियोजना सञ्चालनसँगै भएका पूर्वतयारीसम्बन्धी गतिविधिका कारण जिल्लामा पहिलेको जस्तो बाढी डुबानमा डुबेर वा बगेर ठूलो मानवीय क्षति भएको घटना सुनिएको छैन ।’

विपद्को समयमा पूर्वसूचना प्रणालीलाई पनि सक्रिय तुल्याइने गरिएको छ । प्राकृतिक प्रकोप र जलवायुका कारण समुदायका साना किसानको सामाजिक आर्थिकस्तरमा पर्ने झट्का र तनावलाई न्यूनीकरण गर्दै समुदायलाई उत्थानशील बनाउने लक्ष्य यो परियोजनाको छ ।

जिल्लाको भजनी, चुरे गाउँपालिका, कैलारी गाउँपालिका र धनगढी उपमहानगरका कतिपय नदी तटीय क्षेत्रका वडामा आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजना कार्यक्रम कार्यान्वयनमा रहेको छ । यसबाट विभिन्न १७ समुदायका एक हजार ५१७ घरधुरी लाभान्वित भएका छन् ।

परियोजनाले विपद् जोखिम न्यूनीकरणका साथै आर्थिक विकास र उत्थान, अनुसन्धानलगायतका गतिविधि गरिरहेको छ । विपद् न्यूनीकरणका क्रममा विभिन्न १७ समुदायमा कृत्रिम घटना अभ्यास पनि गर्ने गरिएको छ । विपद्को समयमा खोज तथा उद्धार टोलीको व्यवस्थापनका साथै समयमै सूचना दिन पूर्वसूचना प्रणालीको विकास गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीबाहेक कञ्चनपुर, बैतडी र डडेल्धुरा जिल्लामा समेत यो परियोजनाले गतिविधि गरिरहेको छ । यसैबीच आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाले गरेको कार्यप्रगतिबारे यहाँ सार्वजनिक सुनुवाइ गरिएको छ ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले हरियाली मासिन थालेकाले नै विपद्का घटना बढ्न थालेको भन्दै हरियाली जोगाउने अभियानमा लाग्न आग्रह गरे । उनले विपद् व्यवस्थापन कार्यमा नगरपालिकाले पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा परियोजनाका निर्देशक जोशीले परियोजनाका गतिविधिमाथि प्रकाश पारेका थिए । त्यस अवसरमा सहभागीहरुले परियोजनाका गतिविधिलाई थप क्षेत्रमा विस्तार गर्न सुझाव दिएका थिए । (सिद्धराज भट्ट/रासस)

प्रकाशित समय १४:४७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु