fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ न्युज कारोबारको प्रधान सम्पादकमा गजेन्द्रसिंह बुढाथोकी

न्युज कारोबारको प्रधान सम्पादकमा गजेन्द्रसिंह बुढाथोकी

न्युज कारोबारको प्रधान सम्पादकमा गजेन्द्रसिंह बुढाथोकी नियुक्त भएका छन् । आर्थिक समाचारलाई विशेष प्राथमिकता दिइरहेको न्युज कारोबारमा बुढाथोकी मंगलबारदेखि नियुक्त भएका हुन् ।

पत्रकार बुढाथोकीले २०५२ सालदेखि स्थानीय तहमा प्रकाशित हुने त्रियुगा अर्ध साप्ताहिक, नवउदय साप्ताहिक, टंकेला साप्ताहिकलगायत पत्रिकामा सक्रिय रूपमा सहभागिता जनाउँदै पत्रकारिता पेसा सुरु गरेका हुन् ।

उनले सोही सालबाट प्रकाशित भएको लोकपत्र दैनिक र आजको समाचारपत्र दैनिक, देशान्तर साप्ताहिक, जनसत्ता साप्ताहिक, नवआवाज साप्ताहिकमा स्थानीय संवाददाताका रूपमा काम गरिसकेका छन् । २०५३ सालदेखि आजको समाचारपत्र दैनिक (हालको नेपाल समाचारपत्र दैनिक)मा संवाददाताका रूपमा कार्यरत रही २०६४ सालमा वरिष्ठ सहायक-सम्पादकसम्म भएका बुढाथोकीले त्यसपछि राजधानी दैनिकमा आर्थिक सम्पादकको जिम्मेवारी निर्वाह गरे ।

बुढाथोकीले नेपाल समाचारपत्रमा १० वर्ष आर्थिक एवं बिजनेस ब्युरो प्रमुख, राजधानी दैनिकमा कार्यकारी सम्पादक तह (अर्थ-सम्पादक) एक वर्ष, दैनिकीडटकम अनलाइनमा १ वर्ष सम्पादक, कारोबार दैनिकमा १० वर्ष समाचार सम्पादक र सोही अवधिमा कारोबार दैनिकमा करिब ६ महिना कार्यबाहक सम्पादकका रुपमा काम गरेका छन् ।

व्यवस्थापनमा स्नातक तहसम्मको अध्ययन गरेका बुढाथोकीले २०५२ देखि २०५४ सालको अवधिमा नेपाल प्रेस इन्स्टिच्युटको विराटनगरस्थित क्षेत्रीय सञ्चार स्रोत केन्द्रबाट आधारभूत पत्रकारिता, विकास पत्रकारिता, खोजमूलक पत्रकारिता, प्रसारण पत्रकारिता, सम्पादन सीपलगायत विषयमा आवधिक प्रशिक्षण लिएका छन् ।

नेपाल राष्ट्र बैंक, बैंकर्स प्रशिक्षण केन्द्रबाट आर्थिक पत्रकारितासम्बन्धी चार पटक आवधिक प्रशिक्षण लिएका बुढाथोकीले सन् २००५ मा पाकिस्तानको लाहोरस्थित लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्स (लम्स)बाट आर्थिक पत्रकारिताको विशिष्ट प्रशिक्षण लिएका छन् ।

२०५४ सालमा नेपाल प्रेस इन्स्टिच्युट र युनिसेफ नेपालद्वारा संयुक्त रूपमा उत्कृष्ट विकास पत्रकारका रूपमा सम्मान पाएका बुढाथोकी एसियन डेभलोपमेन्ट बैंक (एडीबी)बाट सन् २००४ मा एसियाकै उत्कृष्ट पत्रकारहरूका रूपमा पुरस्कृत भएका थिए भने नेपाल सरकारबाट २०७३ सालमा राष्ट्रिय पत्रकारिता पुरस्कार पाएका छन् ।

बुढाथोकीले रोटरी इन्टरनेसलबाट रोटरी पत्रकारिता पुरस्कार, गरिबी निवारण कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारका साथै आइसीटी एसोसिएसन अफ नेपालबाट ‘हाई विलपावर आइसीटी पर्सनालिटी अफ नेपाल’, छाताजुत्ता तथा वस्तु उत्पादक संघबाट विशेष सम्मान पाएका छन् ।

बुढाथोकीका ‘आर्थिक उदारीकरणका २० वर्ष’ र ‘समकालीन नेपाली अर्थतन्त्र’ गरी दुई पुस्तक प्रकाशित छन् । उनी जापानबाट प्रकाशित भ्वाइस अफ एसियाका सहलेखक हुन् ।

 

चिफ मार्केटिङ अफिसरमा विष्ट

न्युज कारोबारले चिफ मार्केटिङ अफिसरमा लक्ष्मण विष्टलाई नियुक्त गरेको छ । विष्टलाई पनि मंगलबार नै सो पदमा नियुक्त गरिएको हो । विष्टसँग कारोबार आर्थिक दैनिक, कान्तिपुर एफएम, अनलाइन पत्रिका देशसञ्चार र हिमालय टिभीमा काम गरेको अनुभव छ ।

प्रकाशित समय १९:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु