गृहपृष्ठ बन्दीको चाप बढेपछि स्थानान्तरणको प्रक्रिया तीव्र

बन्दीको चाप बढेपछि स्थानान्तरणको प्रक्रिया तीव्र

कारागार कार्यालय चितवनमा बन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालु आवमा विभिन्न मितिमा गरी ९६ जना बन्दीलाई यहाँबाट स्थानान्तरण गरिएको छ । पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र ५ पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ । उनीहरूमध्ये महिलासँगै एक आश्रित बच्चा पनि रहेको उनले बताए ।

कार्यालयमा बन्दीको चाप बढेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको काफ्लेले जानकारी दिए । यसअघि भदौ ५ गते वीरगन्ज कारागारमा २४, कात्तिक ३ गते मकवानपुरको भीमफेदी कारागारमा ५४ र कास्कीमा एक जना स्थानान्तरण गरिएको थियो । कारागारको क्षमता पुरुषतर्फ २५५ र महिलाको २५ जना रहेको छ । अहिले यस कारागारमा ६३ महिला र ७०९ जना पुरुष रहेका छन् ।

छिमेकी जिल्ला मकवानपुरमा महिला बन्दीगृह नहुँदा र नवलपुरमा अदालत स्थापना भए पनि बन्दी राख्नका लागि कारागार नहुँदा चितवनमा चाप बढेको उनले बताए । अहिले कारागारमा बन्दी राख्न र सुताउन ठाउँ साँघुरो हुँदै गएको छ । (रासस)

प्रकाशित समय १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु