गृहपृष्ठ मारुति सिमेन्टको स्काभेटरमा बम विस्फोट

मारुति सिमेन्टको स्काभेटरमा बम विस्फोट

मारुति सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विस्फोट गरेको छ । बुधबार राति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुति सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्ण रूपमा क्षति भएको छ । अरू एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ ।

मारुति सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका-१४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको स्काभेक्टरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । स्काभेक्टरमा बम विस्फोटको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

यसैबीच हिजो दुधौली नगरपालिका-१३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको थियो । निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै १ करोड ५० लाख रुपैयाँ चन्दा मागेको जानकारी दिए । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुधौली नगरपालिका तथा निर्माण व्यवसायीलाई रातिको समयमा सवारी साधन असुरक्षित हुने महसुस भएमा नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरिएको छ । (रासस)

प्रकाशित समय १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु