fbpx
corona information

गृहपृष्ठ ‘एक वर्षभित्र पुनर्वास क्षेत्रका सडक कालोपत्रे हुन्छ’

‘एक वर्षभित्र पुनर्वास क्षेत्रका सडक कालोपत्रे हुन्छ’

खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिने बताएकी छन् ।आइतबार कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेगस्थित दोदा नदीको अवलोकन गर्दै अब पुनर्वास क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताएकी हुन् ।

सदरमुकामभन्दा टाढा रहेको यस क्षेत्रलाई विगतमा सरकारले खासै ध्यान नदिएको बताउँदै उनले यस क्षेत्रको विकासमा गम्भीर भएर लाग्ने बताइन् । ‘सरकारले गर्ने विकास सधैं बजारकेन्द्रित बन्यो,’ उनले भनिन्, ‘जसका कारण अहिलेसम्म यहाँका जनता धेरै सेवा सुविधाबाट बञ्चित हुनुहुन्छ । अब विकासले यस क्षेत्रलाई पनि छुनेछ । स्तरीय बाटोघाटो नहुँदा यस क्षेत्रका जनताको सदरमुकामबाट सम्बन्ध टुटेको छ ।’

पुनर्वास नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ लाई जोड्ने लोकतान्त्रिक सडक कालोपत्रेका लागि आफूले पहल गर्ने मन्त्री मगरले बताइन् । यो सडक भित्री सडक भए पनि यस क्षेत्रका जनताका लागि महत्वपूर्ण भएकाले यसको कालोपत्रे गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने उनको भनाइ छ । ‘यस सडकको कालोपत्रे भएपछि यो सडक पुनर्वासका जनतालाई धनगढीसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ । यसै आर्थिक वर्षभित्र कालोपत्रे निर्माणका लागि भौतिक मन्त्रालयमा पहल गर्नेछु,’ उनले भनिन् ।

मन्त्री मगरले पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापासँग भेट गरी सडक कालोपत्रे गर्ने विषयमा कुराकानी गरिन् । भेटमा मेयर थापाले सडक कालोपत्रेका लागि नगरपालिकासँग बजेट अपुग भएकाले केन्द्र सरकारसँग बजेट थप गरिदिन मन्त्री मगरलाई आग्रह गरे । पुनर्वास नगरपालिकाकै पहलमा सडकको डिपिआर भने तयार भइसकेको छ ।

मन्त्री मगरले सोमबार नै प्राविधिकको टोली आएर सडकको अवलोकन गर्ने र थप प्रक्रियाहरु अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् । सो सडकमा पानी जम्ने समस्या पनि रहेकोले त्यसको दीर्घकालीन समाधानको उपायका साथ सडक कालोपत्रे गरिने मन्त्री मगरको भनाइ छ ।

प्रकाशित समय १७:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु