fbpx

गृहपृष्ठ बेलहरीमा गुरुवागाउँ मेला : भेडा जुधाएर बहादुरी

बेलहरीमा गुरुवागाउँ मेला : भेडा जुधाएर बहादुरी

नेपालगन्ज उपमहानगरपालिका-१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुगेका छन् ।

बाँकेको जानकी गाउँपालिका-५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन् । ‘लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ,’ गुरुवागाउँ मेलामा भेडासहित भेटिएका घनश्यामले भने, ‘सानाले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने १० हजार रुपैयाँ छ भने त्यसको मूल्य रु २५/३० हजार रुपैयाँ भइहाल्छ ।’

डुडुवा गाउँपालिका-४ बाट भेंडा जुधाउन आएका दौलतप्रसाद यादवले भेडा लडाउने खेल सोखका लागि हुने गरेको बताउँछन् । ‘भेडा लडाउने हाम्रो सोख हो । पाल्ने, लडाउने, हारेपछि बगरेलाई दिने,’ यादवले भने, ‘लाडकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।’

उनका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडालाई गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा २० हजार रुपैयाँ पर्छ ।

भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरिएको जानकी गाउँपालिका-५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक रमेशकुमार बर्माको भनाइ छ ।

मेलामा भेडापालक किसान स्वःस्फूर्त रूपमा भेडा ल्याएर जुधाउने गरेको बर्मा बताउँछन् । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उनले जानकारी दिए । (भेषराज बस्नेत/रासस)

प्रकाशित समय १५:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु