fbpx

गृहपृष्ठ अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट

अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट

नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका भू-भाग भारतबाट अतिक्रमण भइरहेको हुँदा कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले बुधबार रिट दायर गरेका हुन् ।

रिट निवेदनमा भारतबाट अतिक्रमित नेपालका भू-भाग, जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ । रिट निवेदनमा नेपालको संविधानमा राष्ट्रियहित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हकअधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्ने भएको व्यवस्थाअनुसार सुरक्षा गर्न माग गरिएको छ ।

रिट निवेदनमा सीमामा अतिक्रमित भूमिबारे राज्य मौन बस्दा सर्वसाधारण आमजनतालाई असर परिरहेको हुँदा स्वतन्त्रतापूर्वक सार्वभौमसत्ता सम्पन्न भई बाँच्न पाउनु समस्त नेपालीको अधिकार भएको र सोका लागि कार्य गर्नु सरकार र राज्यको दायित्व भएको उल्लेख छ ।

भारतले हालै जारी गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका क्षेत्र आफ्नो सीमाभित्र पारेपछि सर्वत्र विरोध र निन्दा भइरहेको छ । दल र तिनका नेता एकजुट भएर भारतीय नक्सा सच्याउनुपर्ने आवाज उठाइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय, सर्वपक्षीय बैठक बेलाएर समस्या समाधानको पहल खोजेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन एवं भ्रातृ संगठनहरूले विरोध गरिरहेका छन् । नेपाल मजदुर किसान पार्टीले देशभर सीमा अतिक्रमणको विरोधमा आन्दोलन जारी राख्ने जनाएको छ । सामाजिक सञ्जालमा सीमा अतिक्रमणको चर्को आलोचना र निन्दा भइरहेको छ । सत्याग्रही डा. गोविन्द्र केसीले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेखेर नेपाली नागरिकको सम्मान गर्न आग्रह गरेका छन् ।

यस विषयमा भारतको विदेश मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनका क्रममा नेपालको सीमा नमिचेको धारणा सार्वजनिक गरेको छ । चौतर्फी विरोध भइरहँदा पनि मौन रहनुलाई परराष्ट्रविदहरूले भारतको हेपाहा प्रवृत्तिको रूपमा लिएका छन् । परराष्ट्रविद् डा. भेषबहादुर थाप भारतले विगतदेखिको नेपाललाई हेप्ने शैलीमा कुनै परिवर्तन नल्याएको बताउँछन् । नेपाली अतिक्रमित भूमि फिर्ता लिन बलियोसँग कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित समय १४:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु