गृहपृष्ठ बंगलादेशी राष्ट्रपति मंगलबार नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

बंगलादेशी राष्ट्रपति मंगलबार नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

#abdul_hamid #president of bangladesh

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद तीन दिने भ्रमणको सिलसिलामा आगामी मंगलबार नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हुन लागेकाे हमिदकाे भ्रमण तालिका परराष्ट्र मन्त्रालयले शनिबार सार्वजनिक गरेको छ ।

भ्रमण तालिकाबारे परराष्ट्रले जारी गरेकाे विज्ञप्तिअनुसार समकक्षी हमिदलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछिन् । यस्तै उनले राष्ट्रपति हमिदको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्ने कार्यक्रम छ ।

यसका साथै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग हमिदले भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ ।

भ्रमणका क्रममा राष्ट्रपति हमिदले उपत्यकामा रहेका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको भ्रमणहरूकाे अवलाेकन गर्नेछन् । उनी पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिकाे दोस्रो कार्यकालका लागि सन् २०१८ मा पुनःनिर्वाचित भएका हमिद पहिलाेपटक नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल र बंगलादेशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हाे ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु