fbpx

गृहपृष्ठ आरनले नछाडेका द्रोणबहादुर

आरनले नछाडेका द्रोणबहादुर

dronabdr-aran-newskarobar

घनले फलामका औजार पिटेको टाढैबाट सुनिन्छ । त्यो आवाज कहिले अलि टाढासम्म सुनिन्छ भने कहिले वरिपरि मात्र । कामको प्रकृतिअनुसार चलाइने घनको हिर्काइअनुसार आवाज निस्कन्छ । त्यो आवाजवरिपरि प्रायः मानिसको समूह एकोहोरो हेर्दै हुन्छ । गोरुसिंगे–सन्धिखर्क सडकनजिकै वसन्तपुरको कपासी गाउँका द्रोणबहादुर विश्वकर्मासँग जोडिएको कथा हो यो ।

बिहान राम्ररी घाम नलाग्दै मानिसहरु आरनमा जम्मा हुन थाल्छन् । बिहान सबेरै उठ्ने बानी भए पनि द्रोणबहादुरको नित्यकर्म नसकिँदै मानिस आउन थालिहाल्छन् । मानिस जम्मा भएको थाहा पाएर पनि उनी हतार नगरी आफ्नो नित्यकर्म सक्छन् ।

आरनमा आउनेहरु त्यत्तिकै गफ चुट्न जम्मा भएका होइनन् । हरेकले कृषिकर्ममा आवश्यक फलामका औजार ल्याएका हुन्छन् । खाली त उनको बिहान कहिल्यै जाँदैन । खेती लगाउने र स्याहार्ने बेलामा उनीकहाँ अझ धेरै मानिस जम्मा भएका हुन्छन् ।

द्रोणबहादुर अर्घाखाँची सितगंगा–१० हर्रेका हुन् । उनको पुर्ख्यौली पेसा नै आरन हो । उनले बचपनदेखि जानेको सीप पनि यही हो । ६ वर्षअघिसम्म उनी गाउँमै जमेका थिए । गाउँका धरै मानिस बसाइँ सरेर तराई झरे । छोराछोरी काममा लागिसकेका र उनलाई सहज ठाउँमा दुःख नगरी बस्न भनेकाले उनी पनि तराई झर्ने रहर गरे । गाउँको आरन भाइलाई जिम्मा लगाए । ‘काममा लागेका छोराहरुले कामबाट फुर्सद दिएपछि केही समयका लागि चन्द्रौटा झरें,’ उनी सम्झन्छन्, ‘चन्द्रौटामा बस्दा सबै चिनेजानेका मानिसले आरन लगाउन कर गरिहाले ।’ आरन लगाएपछि उनीकहाँ ३० किलोमिटर परसम्मका मानिस आउन थाले ।

त्यहाँ एक वर्ष आरन चलाउँदा उनी गर्मीले आत्तिए । आरन छाड्न त उनलाई समाजले नै दिएन । त्यसैले उनले अलि शीतल ठाउँ खोज्न थाले । सबैले उनलाई आफ्नै गाउँमा लैजान जोडबल गरे । वसन्तपुरको कपासीमा उनलाई ऐलानी जग्गाको व्यवस्थासमेत स्थानीयले मिलाइदिए । ‘अलि शीतल ठाउँ हुनाले मलाई पनि यहाँ ठिकै लाग्यो,’ उनकी पत्नी पातलीले भनिन् ।

तीज र दसैंजस्ता चाडबाडमा उनीहरु पहाडतिरै लाग्छन् । ‘अरु बेला यतै बानी परे पनि तीज र दसैंमा हर्रे नै पुगिन्छ,’ पातलीले थपिन्, ‘यता विष्टहरु भए पनि मन मिल्ने दिदीबहिनी त उतै छन् ।’
आम्दानीका हिसाबले तराई उनीहरुलाई निकै फापेको छ । ‘पोहोर ३० क्विन्टल धान बेचियो,’ पातलीले भनिन्, ‘हर्रेमा फर्निचर व्यवसाय गर्ने जेठो र काठमाडौंमा सपरिवार बस्ने कान्छा छोरालाई खाद्यान्न पनि यहीँबाट पुर्‍याएकी छु ।’ थातथलो छाडे पनि आफ्नो खर्चका लागि छोराहरुलाई कुनै दायित्व नदिएको पातली बताउँछिन् ।

आरन चलाउने मान्छे नभएर किसान धेरै हैरानीमा थिए । ‘द्रोणबहादुर यहाँ आएपछि काम गर्न निकै सजिलो भएको छ,’ स्थानीय झग्गु चौधरीले भने । उनी यहाँ आउनुअघि आरनको अभावमा खेत जोत्नुअघि फाली पिट्न पनि निकै समस्या भएको किसानहरु बताउँछन् । ‘धान काट्ने बेलामा हँसियामा धार लगाउन कम्ती समस्या थिएन,’ स्थानीय माधव पोख्रेल भन्छन्, ‘द्रोणबहादुरले यहाँ आरन राखेपछि निकै सजिलो भएको छ ।’ कपासीमा द्रोण दम्पती समाजका पनि निकै प्यारा भएका छन् ।

उनकामा भाँडा पिटाउन पत्थरकोट, वीरपुर, चप्परगाउँ, चन्द्रौटादेखिका मानिस आउँछन् । ‘हँसियामा अरुले लगाएको धारले त्यति चित्त बुझ्दैन,’ चन्द्रौटाबाट आएका विशाल पन्थी भन्छन्, ‘त्यसैले अलिकति टाढा भए पनि यहीँ आउँछु ।’

हिजोआज आधुनिक औजारको प्रयोगसँगै आरन चलाउने पेसाप्रति मानिसको रुचि घट्दै गएको छ । कृषिका लागि अन्यावश्यक हँसिया, बन्चरो, कोदालो, फाली भने वर्षको एक पटक आरनमा लगेर पाइन नचढाउने हो भने राम्ररी लाग्दैनन् । त्यसैले आरन कृषि कर्मका लागि अत्यावश्यक छ । तराईमा भने अत्यधिक गर्मीका कारण मानिसले यो पेसा छाड्दै गएका छन् ।

उनले चन्द्रौटा छाड्न थालेको चाल पाएर आफ्नै गाउँमा लैजान धेरैले प्रयास गरेका थिए । उनलाई कपासी जत्तिको उत्तम कतै लागेन ।

उनले चन्द्रौटा छाड्न थालेको चाल पाएर आफ्नै गाउँमा लैजान धेरैले प्रयास गरेका थिए । उनलाई कपासी जत्तिको उत्तम कतै लागेन । उनले त्यहाँ घडेरी पनि जोडिसकेका छन् । ‘बुहारीहरुले पनि यो ठाउँ मन पराएका छन्,’ द्रोणबहादुर थप्छन्, ‘घर बनाउन्जेल एउटा छोराले समय दिने भए थालिहाल्छु ।’ अरु समय नभए पनि चाडबाडमा छोरा–बुहारी र नातिनातिनालाई यहीँ जम्मा भेला पार्ने उनको इच्छा छ ।

किसानले काम गराएर ज्याला त दिन्छन् नै अझ मेलापर्वमा उनीहरुको भाग भनेर सिदा पनि दिने गर्छन् । सिदामा आरन राख्नेको परिवारलाई एकछाक पुग्ने गरी दाल, चामल, मौसमअनुसारका तरकारी, नुन, तेल, बेसार र मरमसलासहित समावेश गएिको हुन्छ । ‘घर छोडेर बस्न खोज्दा आम्दानी अझ बढेको छ,’ पातली थप्छिन्, ‘तराईमा गर्मी चाहिँ सहनै परेको छ ।’

‘सीप ठुलो कुरा हो,’ द्रोणबहादुर भन्छन्, ‘आफ्नो सीपको सदुपयोग गर्न जाने संसार सधैं आफ्नो रहन्छ ।’ आफूले पेसा छाड्न खोजे पनि पेसाले आफूलाई छोड्न नसकेको द्रोण बताउँछन् ।

प्रकाशित समय ११:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु