गृहपृष्ठ बालविवाह न्यूनीकरणका लागि पण्डितलाई प्रशिक्षण

बालविवाह न्यूनीकरणका लागि पण्डितलाई प्रशिक्षण

panditlai talim (2)

कर्णाली प्रदेशमा बालविवाह न्युनीकरण गर्ने उद्देश्यले पण्डितहरुका लागि प्रशिक्षण अभियान सुरु गरिएको छ । बुधबारदेखि प्रदेशका दशवटै जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपाली परम्पराअनुसार पण्डितहरु विवाहमा प्रत्यक्ष सहभागी हुने भएकाले उनीहरुका लागि यस्तो कार्यक्रम सुरु गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले बताए । ‘पण्डितहरुले विवाह गराउनुअगाडि नागरिकता र जन्मदर्ता मागेर उमेर पुगे/नपुगेको हेर्ने हो भने बालविवाहमुक्त समाज निर्माणका लागि सहयोग होला भनेर यस्तो कार्यक्रम गरेका हौँ,’ डीआईजी जोशीले भने ।

प्रशिक्षणको क्रममा बालविवाहको असर, बालविवाह गर्ने र गराउनेलाई हुने कानूनी कारबाहीका बारेमा पण्डितहरुलाई जानकारी गराइने डीआईजी जोशीले जानकारी दिए । आगामी आइतबारसम्म सञ्चालन हुने यस कार्यक्रममा कर्णाली प्रदेशका ४ सय ४४ जना पण्डितहरुको सहभागीता हुने उनले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयहरुले स्थानीय तहसँग समन्वय गरी कार्यक्रमसम्बन्धी योजना बनाएको हो । कर्णाली देशभरमै बालविवाहको जोखिममा रहेको प्रदेश भएकाले यस कार्यक्रममार्फत न्यूनीकरणको प्रयास गरिएको डीआईजी जोशीले बताए । यस्तो कार्यक्रम नेपालमै नयाँ भएको उनले दाबी गरे ।

कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार करिब १ सय पण्डितहरुलाई प्रशिक्षण दिएको छ । सिम्ता गाउँपालिकामा ७ र वीरेन्द्रनगर नगरपालिकामा ९३ जनालाई प्रशिक्षण दिइएको सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिए ।

कार्यक्रममा सहभागी पण्डित आदित्यराज उपाध्यायले प्रशिक्षणबाट धेरै कानूनी कुराहरु थाहा भएको बताए । उनले आफूलाई कसैको विवाह गराउने अवसर मिलेमा कानूनी कुराको साथै विवाहमा उमेर पहिचान पनि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु