fbpx

गृहपृष्ठ राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण गरी स्वदेश फिर्ता भएकी छन् । राष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको जापान भ्रमण फलदायी भएको बताए । उनले यस भ्रमणले द्विपक्षीय सहयोग तथा सम्बन्ध बिस्तारमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरे ।

जापानका सम्राट् नारुहितोको गद्दी आरोहणमा सहभागी भएकी राष्ट्रपति भण्डारीले त्यस अवसरमा जापान सरकारलाई धन्यवाद दिनुका साथै जापानका सम्राट्, सरकार तथा जापानका जनतालाई बधाइ एवं सुख शान्ति एवं समृद्धिको शुभकामना दिएको गृहमन्त्रीले जानकारी दिए ।

केही समयअघि जापानमा आएको आँधी बेहरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले समवेदना प्रकट गरेको बताइएको छ । नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेकाले जापानको पुँजी प्रविधि सीप र ज्ञान नेपालका लागि महत्वपूर्ण हुने भन्दै राष्ट्रपति भण्डारीले व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनको क्षेत्रमा दुई देशबीच सहकार्य हुनसकेमा जनस्तरको सम्बन्धमा विस्तार हुन जाने विश्वास व्यक्त गरेकी थिइन् ।

त्यसैगरी राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापान सरकार तथा जनताको सहयोग रहने अपेक्षा गरेकी थिइन् । जलवायु परिवर्तन र पर्यावरणीय असन्तुलनका नकरात्मक असरका सम्बन्धमा विश्व समुदायको ध्यानकर्षण तथा अन्तराष्ट्रिय सहयोग जुटाउन नेपालले सन् २०२० को अप्रिलमा आयोजन गर्ने सगरमाथा संवादमा जापान सरकारको तर्फबाट उच्च तहको सहभागिताका लागि भण्डारीको अुनरोध थियो ।

भ्रमणकै सिलसिलामा राष्ट्रपति भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच भेटवार्ता भएको थियो । भण्डारीले कोविन्दलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको गृहमन्त्री थापाले जानकारी दिए । राष्ट्रपति भण्डारी म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गरेकी थिइन् ।(रासस)

प्रकाशित समय ०७:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु