fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडियो

प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडियो

प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका तथा हुर्काइएका १३ डंगुर प्रजातिको गिद्ध शनिबार कावासोतीको पिठौलीस्थित जटायु रेस्टुरेन्टमा छाडिएको हो ।

प्रजनन केन्द्रमा हुर्किएका गिद्ध प्राकृतिक वातावरणमा घुलमिल हुन सक्ने भएपछि प्राकृतिक बासस्थानमा छाडिएको हो । प्राकृतिक बासस्थानमा छाडनुअघि प्रजनन केन्द्रबाट ल्याइएका गिद्धलाई पिठौलीमा रहेको ‘रिजिलएभिएरी’ (बाहिरी वातावरण देख्न सक्ने गरी निर्माण गरिएको जालीको घर) नौ महिनासम्म राखिएको थियो । नौ महिनासम्ममा अन्य बाहिरी वातावरणको अवलोकनपश्चात बाहिर रहेका गिद्धसँग घुलमिल हुन सक्ने देखिएपछि प्राकृतिक बासस्थानमा छाडिएको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले बताए ।

तीन पटक गरेर कसराको प्रजनन केन्द्रमा हुर्काइएका ३१ गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । यसअघि पहिलो पटक विसं २०७४ मा छ गिद्ध र दोस्रो पटक विसं २०७५ मा १२ गिद्ध प्राकृतिक बासस्थानमा छोडिएको थियो । यसअघि प्राकृतिक बासस्थानमा छाडिएका गिद्ध सहज रूपमा बाह्य वातावरणमा घुलमिल भएको संयोजक चौधरीले बताए । यसले गिद्ध संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।

प्रजनन केन्द्रमा हुर्किएका गिद्ध प्राकृतिक बासस्थामा छाडिनुपूर्व गिद्धको ढाडमा स्याटेलाइट ट्याग जडान गर्ने गरिन्छ । यसले गिद्धको आनिबानी थाहा पाउन सकिने संयोजक चौधरीले बताए । यसअघि छाडिएका गिद्ध देशका करिब २० जिल्लाको २४ हजार वर्ग किलोमिटर क्षेत्रमा चरणका लागि पुगेको देखिएको छ ।

एउटा स्याटेलाइट ट्याग जडान गरिएको जंगली गिद्ध पिठौलीबाट करिब १ हजार १ सय किलोमिटर टाढा पश्चिम-उत्तरतर्फ भारत र पाकिस्तानको सीमा जम्मु कस्मिर क्षेत्रसम्म पुगेको समेत पाइएको संयोजक चौधरीले बताए । गिद्धलाई शुद्ध आहारा उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले विसं २०६३ मा स्थानीय समुदायको सक्रियतामा नवलपुरको कावासोती नगरपालिका पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको गिद्ध संरक्षण केन्द्रका रूपमा जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो ।

जटायु रेस्टुरेन्टमा अघिल्लो वर्षको तथ्यांकअनुसार २०३ गिद्ध रहेका छन् । स्थापनाको समयमा यहाँ सात प्रजातिका ७२ गिद्ध रहेको गणना गरिएको थियो । अहिले नेपालमा पाइने नौ प्रजातिमध्ये आठ प्रजातिका गिद्ध यहाँ पाइन्छन् । रैथाने चार प्रजातिका गिद्ध रहेका छन् भने बाँकी चार प्रजाति हिमाली क्षेत्रबाट जाडो मौसममा बसाइँसराइ गरी आउने गरेको संयोजक चौधरीले बताए ।

नमुना मध्यवर्ती सामुदायिक वनको ५० हेक्टर क्षेत्रफलमा जटायु रेस्टुरेन्ट स्थापना गरिएको छ । गिद्धका आहाराका लागि वनभित्रै वृद्ध गाई पालिएको छ । गाई मरेपछि गिद्धको आहाराका रूपमा प्रयोग गर्ने गरिएको छ । (रासस)

प्रकाशित समय १४:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु