fbpx
Nepal Mediciti

गृहपृष्ठ जेष्ठ नागरिकका लागि सुरक्षा भत्ता लिनु ‘लडाइँमा होमिनु’सरह

जेष्ठ नागरिकका लागि सुरक्षा भत्ता लिनु ‘लडाइँमा होमिनु’सरह

jestha nagarik_news karobar (1)

वीरेन्द्रनगर नगरपालिका– ४ भैरवस्थानका ७७ वर्षीय जसन्तबहादुर खत्री सामाजिक सुरक्षा भत्ता लिन बुधबार बिहानै बैंक पुगे । ६ बजेदेखि लाईनमा बसेका खत्रीको पालो बल्ल साढे १ बजे आयो । मासिक तीन हजारका दरले चार महिनाको बाह्र हजार रुपैयाँ पाएपछि उनी खुसी हुँदै भत्ता लिनेहरुको लामबाट बाहिर त निस्किए । तर त्यति बेलासम्म भोक र थकानले उनी लखतरान परिसकेका थिए ।

‘हामीजस्तो नहुनेलाई दसैंको मुखमा पाएको यो पैसाले ठुलो सहयोग दिन्छ । मासु खान, एकसरो लुगा लगाउन हुनेभयो,’ उनले भने । तर सात घण्टा लाईन बस्नुपर्दा भने निकै दुख भएको उनको गुनासो थियो । वडा कार्यालयबाट घरमै भत्ता दिने व्यवस्था भए आफूहरुजस्तो ‘बुढाबुढी’का लागि ‘सुनमा सुगन्ध’ हुने उनको भनाइ छ । वीरेन्द्रनगरको ऐरी चौकस्थित लक्ष्मी बैंकको शाखा कार्यालयमा भेटिएका उनले वडा कार्यालयमार्फत घरमै भत्ता दिने व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे ।

वीरेन्द्रनगर– २ की ७० वर्षीय देवीसरा सार्कीको पनि वृद्ध भत्ता पाएपछिको खुशीसँगै सास्ती, गुनासो र आग्रह जसन्तबहादुरकोभन्दा फरक छैन । बिहानै अटोरिक्सा चढेर नेपाल इन्भेष्टमेन्ट बैंकको कार्यालय पुगेकी उनले १२ हजार रुपैयाँ हात पार्दासम्म पाको शरीर थकान र भोकले शिथिल भइसकेको थियो । सँगै आएका उनका श्रीमान ८० वर्षीय तिलबहादुर सार्र्कीले पनि ‘१२ हजारको खुशी’ प्राप्त गर्दासम्म उस्तै सास्ती झेले, भोकतिर्खा नभनी घण्टौँको लाइन र घाममा तरतरी पसिना ।

खुट्टाको समस्या भएका उनीहरु दुवैजनाका लागि बैंकसम्म आएर सामाजिक सुरक्षा भत्ता लिनु ‘लडाई‍ंमा  होमिनु’सरह हुन्छ । भन्छन्, ‘केही नहुनुभन्दा त यति पैसाले नि ठूलै भरथेग दिन्छ । तर लाइन बसेर पैसा हात पार्दासम्मको दुख सम्झियो मात्र भने पनि हातगोडा गल्छ ।’ देवीसरा र तिलबहादुरको पनि वडा स्तरबाटै सामाजिक सुरक्षा वितरणको व्यवस्था गरिनुपर्ने माग छ ।

जसन्तबहादुर, देवीसरा र तिलबहादुरमात्र हैनन् । सरकारले उपलब्ध गराउने मासिक सामजिक सुरक्षा भत्ता लिन बैंकसम्म धाउनुपर्दा सास्ती खेपिरहेका सबै जेष्ठ नागरिकहरुको गुनासो र माग उस्तै छ । नगरपालिकाका विकट वडाबाट समेत भत्ता लिनका लागि वीरेन्द्रनगर नै आउनुपर्ने कारण समस्या भएको उनीहरुको दुखेसो छ । १५ र १६ नम्बर वडाबाट त तीन घण्टासम्म गाडीमा यात्रा गरेर सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने बाध्यता छ ।

वीरेन्द्रनगर– १५ का पदमबहादुर लामिछानेले आफू अशक्त भएकाले भत्ता लिन बैंकसम्म पुग्न नपाएको बताए । ‘घरबाट सडकसम्म पुग्नै दुई घण्टा हिंड्नुपर्छ । अनि गाडीमा कमसेकम तीन घण्टा । बैंक पुग्नेबित्तिकै पैसा पाइहालिने पनि हैन । एक दिनमा त सम्भव नै छैन, ’ उनले भने, ‘अनि मजस्तो मान्छे कसरी भत्ता लिन बैंकसम्म पुग्ने ?’ उनको लागि वृद्ध भत्ता हात पार्नु भनेको कठिनपूर्ण मात्र हैन, आवातजावतका हिसाबले खर्चिलो पनि छ ।

दसैंको मुखैमा वितरण गरिएको सामाजिक सुरक्षा भत्ताले वृद्धवृद्धाहरुलाई चाडपर्व मनाउन सहज त बनाएको छ । तर बैंकसम्म पुग्न धेरैका लागि समस्या पर्छ । पुगे पनि पर्खेर भत्ता लिन उनीहरुका लागि सास्तीपूर्ण हुँदैआएको छ ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले सामाजिक सुरक्षा भत्ता सहज रुपमा वितरण हुनुपर्छ भन्ने मान्यता रहेको र अशक्तहरुलाई भने वडाको सिफारिसमा बैंकले नै व्यवस्था गरिदिने बताइन् । बैंकबाट पैसाको कारोबार गर्दा सुरक्षित हुने भएकाले सरकारको निर्णयलाई नगरपालिकाले पनि पालना गरिरहेको उनको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका १६ वटै वडा गरी सामाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या ८ हजार ६ सय ५८ जना रहेको सामाजिक सुरक्षा शाखाका सुरेश आचार्यले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरमा रहेको १३ वटा बैंकमार्फत वृद्ध भत्ता वितरण हुने गरेको छ । मंगलबारदेखि सामाजिक सुरक्षा भत्ता सम्बन्धित खातावालाको खातामा ट्रान्सफर गरिएको र आवश्यकता अनुसार जहिले पनि पैसा झिक्न सकिने उनले बताए ।

प्रकाशित समय १६:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु