fbpx
Nepal Mediciti

गृहपृष्ठ मापदण्डविपरीत खोटो संकलनले मासिँदै सल्लेरी

मापदण्डविपरीत खोटो संकलनले मासिँदै सल्लेरी

जाजरकोटको विभिन्न सामुदायिक वनमा मापदण्डविपरीत खोटो संकलन गर्दा सल्लेरी वन क्षेत्र संकटमा पर्दै गएको छ ।

जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकालगायतका ४९ सामुदायिक वनमा मापदण्डविपरीत जथाभावी खोटो खोटो संकलन गर्दै आएपछि सल्लेरी वन क्षेत्र संकटमा पर्दै गएको हो ।

नियमअनुसार एक हेक्टर वनमा पाँचदेखि १० वटा माउ रुखलाई सुरक्षित राख्नुपर्ने खोटो संकलन कार्यविधिमा उल्लेख छ । त्यस्तै कार्यविधिमा जमिनको सतहबाट १ मिटर ३० सेन्टिमिटर उचाइमा ३० सेन्टिमिटरभन्दा बढी व्यास भएका सल्लाको रूखबाट मात्र खोटो निकाल्न पाइने व्यवस्था छ । त्यसको पालना भने भएको छैन ।

कार्यविधिमा उल्लेख गरिएको भन्दा कम व्यासका रूखबाट खोटो निकालेर प्रयोग गर्दा सल्ली रुख सुक्ने समस्या देखिएको छ  । जाजरकोट ढिमेका राधिका मल्लले जंगलका सबै रूखमा चारैतिरबाट पटक–पटक खोटो निकाल्दा सल्लेरी वन विनाश हुँदै गएको बताइन् ।

सल्लेरी वनका रूख सुक्नुको अर्को कारण अधिक मात्रामा एसिड प्रयोग गर्नु पनि हो । खोटो कम्पनीहरूले खोटो बढी झार्नका लागि सल्फ्युरिक एसिडको प्रयोग गरेका कारण बढी समस्य देखिएको हो । यसले सल्लाको रूखलाई सुकाउने डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख महेश कुमाईले बताए  । उनका अनुसार एउटा रूखमा दुईभन्दा बढी बेलेज (खोटो स्राव गराउने बाटो) बनाउनु, जंगलमा रहेका सबै रूखबाट खोटो निकाल्नु र आवश्यकताभन्दा बढी मात्रामा एसिडको प्रयोग गर्नुजस्ता कारणले सल्लेरी वन क्षेत्र संकटमा पर्दै आएको छ ।

अनुगमनका क्रममा मापदण्डविपरीत खोटो संकलन गरेको देखिए पनि कारबाही गर्न भने नसकेको उनले स्वीकार गरे । गत आर्थिक वर्षमा एउटै सामुदायिक वनले ५० लाख रूपैयाँसम्मको सल्लाको काठ बेचेको पाइनु वन विनाशको अवस्था छर्लंग हुने उनको भनाइ छ ।

जाजरकोट सामुदायिक वनबाट खोटो निकाल्ने काम दुई दशकयता हुँदै आएको हो । खोटो निकाल्ने कार्य व्यवस्थित रूपमा अघि नबढ्दा व्यापार–व्यवसायको नाममा वन विनाश भइरहेको स्थानीयवासी बताउँछन् ।

खोटो संकलनको नाममा भइरहेको वन विनाशबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता हुने गरेको स्थानीयवासीको भनाइ छ ।

जथाभावी रूपमा खोटो संकलन गर्ने काम बन्द गर्नुपर्ने धारणा स्थानीयवासीको छ । ‘खोटो संकलकलाई छाडा छाड्दियो भने १० वर्षमा सल्लाघारी पूरै सखाप हुनेछ,’ स्थानीयवासी बताउँछन्, ‘जंगलको नियमित निरीक्षण र अनुगमन शून्य छ ।’ जंगलमा रहेका सबै रुखबाट खोटो निकाल्नु, तोकेको मात्राभन्दा बढी एसिडको प्रयोग गर्नु मापदण्डविपरीत भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

खोटो संकलक कम्पनीले वार्षिक रूपमा खोटो संकलन तथा निकासी गर्न पाएको अनुमतिभन्दा दोब्बर संकलन गर्ने गरेका छन्  । कार्यविधिमा हरेक वर्ष चैतदेखि कात्तिकसम्म खोटो संकलन गर्ने समय तोकिएको छ । खोटो निकाल्नका लागि एउटा रूखमा अधिकतम ३२ जोडी रिल बनाउनुपर्छ । कम्पनीले भने छोटो समयमा धेरै खोटो निकाल्न सय जोडी रिल बनाउने गरेका छन्  । यसले अनुमति लिएकाभन्दा दोब्बर मात्रामा खोटो निकालिने गरेको डिभिजन वन प्रमुख कुमाईले बताए  ।

जाजरकोटको शिवालय गाउँपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाका चार दर्जन सामुदायिक वनबाट खोटो संकलन हुने गरेको छ ।

जाजरकोटका जंगलबाट बाँकेका जयबागेश्वरी रोजिन र देउती रोजिन एन्ड टर्पेन्टाइन उद्योग, कपिलवस्तुको स्वस्तिक रोजिन एन्ड टर्भेन्टाइन, रूपन्देहीको एभरेस्ट हर्बल एन्ड रोजिन र माउन्ट रोजिन एन्ड टर्पेन्टाइनले खोटो संकलन गरेर निकासी गर्ने गरेका छन् । ती कम्पनीले गत आर्थिक वर्षमा १४ लाख ३२ हजार २७ केजी खोटो निकासी गरेका थिए । सामुदायिक वनले खोटोबाट १ करोड ७२ लाख आम्दानी गरेका छन् ।

यता डिभिजन वनले सामुदायिक वनको खाता रोक्का गरेको बताएको छ । जथाभावी भएपछि समूहका खाता रोक्का गरिएको कुमाईले बताए । (हेमन्त केसी/रासस)

प्रकाशित समय ११:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु