fbpx
Nepal Mediciti

गृहपृष्ठ आफन्तबाटै बेचिन्छन् कर्णालीका चेली

आफन्तबाटै बेचिन्छन् कर्णालीका चेली

छाउपडी, महिलाहिंसा, घरेलुहिंसा, बहुविवाह, बहुपतिप्रथा तथा लैंगिक विभेदबाट आजित कर्णालीका छोरीहरु बेचिन्छन् पनि । वर्षेनी कर्णालीका छोरी छिमेकी भारत लगायतका मुलुकमा विभिन्न बाहनामा बेचिँदै आएका छन् । रोगजारीमा लगाइदिने बाहना होस् या विवाह गरी सुखसँग राख्ने प्रलोभन, कर्णालीका १० जिल्लाबाट छोरीहरु वर्षेनी बेचिन बाध्य भएका छन् । छोरा र छोरीमा विभेद, गरिबी र अशिक्षा तथा घरेलुहिंसा मानव बेचबिखनको मुख्य कारण रहेको प्रहरीको अध्ययनले पुष्टि गर्छ । पारिवारिक समस्याबाट मुक्ति पाउनकै लागि उनीहरु दलालको फन्दामा पर्छन् पनि ।

कर्णाली प्रदेश प्रहरीको चार वर्षको तथ्यांक केलाउदा २४ जना छोरी बेचिएका छन् । आर्थिक वर्ष २०७२ देखि आर्थिक वर्ष २०७६ सालसम्ममा कर्णालीबाट २४ छोरी बेचिन बाध्य भएका हुन् । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेत मानव बेचबिखनको दृष्टिले सबै भन्दा बढी जोखिममा रहेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लोकनाथ तिमिल्सिनाका अनुसार ४ वर्षमा सुर्खेतबाट मौ १० जना छोरी बेचिएका छन् । आर्थिक वर्ष ०७२ /०७३ मा चार, ०७३/०७४ मा दुई, ०७४/०७५ मा तीन र ०७५/०७६ सालमा १ जना छोरी बेचिएका हुन् ।

दैलेखबाट आर्थिक वर्ष ०७५/०७६ मा दुईजना बालिका बेचिएका छन् । सल्यानका पाँचजना बालिका दलालको फन्दामा परेर बेचिएका छन् । आर्थिक वर्ष ०७२/०७३ मा सल्यानबाट चारजना बेचिएका छन् भने आर्थिक वर्ष ०७४/०७५ मा एकजना बेचिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार रुकुममा आर्थिक वर्ष ०७२/०७३ मा तीनजना बेचिएका थिए । जुम्लाबाट तीन आर्थिक वर्षमा चारजना छोरी बेचिन पुगेका छन् । आर्थिक वर्ष ०७२/०७३ मा १, ०७३/०७४ मा १ जना र ०७४/०७५ मा २ जना गरि चारजना दलालको फन्दामा परेका हुन् ।

कर्णालीको गरिबी र अशिक्षालाई कारण बनाउँदै मानव बेचबिखनमा सक्रिय गिरोहले लाभ लिइरहेको प्रहरीको भनाइ छ । विभेदमा परेका कर्णालीका छोरीहरु सानो प्रलोभनमा पनि घर छोड्न तयार हुने डिएसपी तिमिल्सिना बताउँछन् । केही घटनाहरु आफन्तहरुबाट समेत हुने गरेको तिमिल्सिनाले बताए । उनले भने, ‘कर्णालीको गरिबीलाई मानव बेचबिखनको गिरोहले अर्थोपार्जनको माध्यम बनाएको छ । कर्णाली प्रदेशका अधिकांश ग्रामीण बस्तीबाट सहरमा रोजगारी दिलाइदिने वा विवाह गरी सुखसँग राख्ने वहानामा आफन्तबाटै पनि छोरी बेचिन बाध्य भएका छन् ।’

आवाज संस्था सुर्खेतकी सिनियर काउन्सेलर नीशा पौडेल कर्णालीमा छोरा र छोरीमाथि गरिने विभेद मानव बेचविखनको प्रमुख कारण भएकोमा सहमत छिन् । ‘कर्णालीमा पुख्र्यौली सम्पत्ति छोराको लागि मात्रै दिने चलन छ । शिक्षा, स्वास्थ्य र रोजगारमा समेत छोरीमाथि विभेद हुने भएकोले उनीहरु स्वतन्त्रताको लागि दलालको फन्दामा पर्ने गरेका छन् ।’

चेतनाले मूख्य भूमिका खेल्ने पौडेलको भनाइ छ । विशेष गरी १८ वर्ष मुनिका किशोरीहरु बेचबिखनको जोखिममा परेको उनले सुनाइन् । ‘चिनेजानेकै मान्छेहरु माध्यम बन्छन् ।’ उनले थपिन्, ‘घरेलु हिंसा र विभेदबाट किशोरीहरु पैसा कमाउने वा जागिर खाने प्रलोभनमा फस्छन् ।’ मानव बेचबिखन नियन्त्रणका लागि कर्णाली प्रदेश सरकार तथा स्थानीय तहहरुले विशेष खालको नीति निर्माण गरि कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

सामाजिक विकास मन्त्रालय महिला तथा बालबालिका शाखाकी अधिकृत अनिता ज्ञवालीले मानव बेचबिखन न्यूनिकरणका लागि चेतनामूलक कार्यक्रम गर्दै आएको बताइन् । प्रदेशका ४ जिल्लामा सेफहाउस निर्माणको क्रममा रहेको ज्ञवालीले जानकारी दिइन् । सुर्खेत, सल्यान, रुकुम पश्चिम, कालीकोट, जुम्ला र दैलेखमा सेफ हाउस बनिसकेको उनको भनाइ छ । विभिन्न नाकाहरुमा चेतनामूलक पोस्टर टाँस्ने कार्यक्रम रहेको ज्ञवालीले बताइन् ।

प्रकाशित समय १०:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु